काठमाडौं– संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिमा मतदानमार्फत जोशीबारे निर्णय गरिएको हो ।
समितिका सदस्य शिवकुमार मण्डलका अनुसार छलफलमा सहमति नजुटेपछि मतदानमार्फत टुङगो लगाएको जानकारी दिए ।
१५ सदस्यीय समितिमा नेकपाका ९, काङ्ग्रेसका चार, फोरम र राजपाका एक-एक सदस्य छन् ।
समितिमा रहेका काँग्रेस सांसदहरु मतदान बहिस्कार गरेका थिए ।
समितिका संयोजक जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले समितिको बैठकले प्रधानन्यायाधीश जोशीबारे गम्भीरतापूर्वक छलफल भएपछि निश्कर्षमा नपुगेपछि मतदानमा गएको बताए । उनले काङ्ग्रेसका सांसदले
स्वीकृतिको पक्षमा रहेको बैठकमा बताएपनि लिखित राय राख्ने भन्दै उठेर गएको बताए ।
उनले सवै प्रकृयामा काङ्ग्रेस सांसदहरु सहभागि भएकाले त्यसलाई बहिस्कार भन्न नमिल्ने पनि बताए ।
उनले लिखित असहमति रेकर्डमा जनाइने बताए ।
उनले मतदान गर्दा जोशीको नाम प्रधान्यायाधीशका लागि अस्वीकृतिको पक्षमा १० मत परेको बताए ।
जोशी अस्वीकृत हुनुपर्ने कारण
यता, संसदीय समितिका सदस्य योगेश भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईका क्रममा उनले आफू प्रधानन्याधीश भएपछि गर्ने ठोस ठोस अवधारणा प्रस्तुत गर्न नसकेकाले उनलाई अस्वीकृत गर्नुपरेको बताए ।
मतदानपछि अस्वीकृत गर्नुपर्नाका कारणहरु खुलाउदै भट्टराइले समितिका सदस्यहरुले सुनुवाइका क्रममा राखेका प्रश्न र जिज्ञासाप्रति सन्तोष जनक जवाफ दिन नसकेको तथा शैक्षिक प्रमाणपत्रहरु समेत सन्देहास्पद देखिएको बताए ।
उनले सार्वजनिक आचारणबारे न्यायाधीशहरुले लिखित उजुरी दिएकाले जोशीलाई प्रधानन्यायाधीश पदका लागि अस्वीकृत गर्नुपरेको बताए ।