-आचार्य श्री सुजन शास्त्री
आषाढ शुक्लपक्षको पूर्णिमा तिथी कृष्ण द्वैपायन महर्षि वेद व्यास प्राकाट्य भएको दिन हो। ब्रह्मसूत्र, अठार पुराण,अठार उपपुराण, महाभारत आदि ग्रन्थहरूका परिकल्पनाकार एवं रचयिता वेद व्यासको जन्म जयन्तिलाई नै गुरूपूर्णिमाको रुपमा मनाइने गरिन्छ। हुन त आदि गुरू भनेर भगवान् शंकरलाई भनिन्छ ।त्यसैगरि गुरूपरम्परा आदि नारायण, ब्रह्मा, वशिष्ठ हुंदै आएको छ। तर लोककल्याणकर्ता कृष्णद्वैपायन वेदव्यासले एऊटै घनिष्ट रूपमारहेको वेदलाई ऋग्,यजु,साम,अथर्व गरि चार भागमा विभाजन गर्नुभयो।(यसरि एऊटै वेदलाई विस्तार गरि चारवटा वनाऊनुभएकाले उहाँलाई "वेद व्यास" भनिएको हो।) जसले गर्दा समाजमा वैदिक मूल्य र मान्यता स्थापित गर्न सरल र सहज भयो। त्यसैगरि पुराणहरूको रचना गरेर मनवीय मूल मन्त्र " परोपकार पुण्याय,पापाय परपीडनम्" को सन्देश दिनुभयो। यी आदि कारणहरूले गर्दा नै आजको दिनलाई गुरुपूर्णिमाको रुपमा मनाइने गरिएको हो।
संस्कृत शब्द " गुरु " दुई अक्षरले संयोजित छ। यी अक्षरहरुको अर्थ अलग गर्दा गुको अर्थ अन्धकार र रुको अर्थ तेसको निरोधक मानिन्छ। भनिएको छ "गुकारस्त्वन्धकारः स्यात्,रुकारस्तन्निरोधकः। अन्धकारनिरोधित्वाद् गुरुरित्यभिधीयते। त्यसैले अन्धकारको निरोधक तत्वलाई नै गुरु तत्व भनिन्छ। पूर्वीय धर्म दर्शन एवं विशुद्ध वैदिक परंपरामा गुरु पूर्णिमाको महत्व अत्यन्त गरिमामय रहिआएको छ। यस दिन हर कोई आफ्ना गुरूलाई स्मरण गरेर गुरू शिष्य परम्परालाई जीवन्त राख्ने कोशिश गर्दछन्।जसको प्रेरणाले हामि आफ्नो लक्ष्य हाँसिल गरेका हुन्छौं।
सम्पूर्ण भारतवर्षमा यस दिन गुरू पूर्णिमाको पर्व मनाईन्छ । साथै हाम्रो देश नेपालमा पनि गुरु पूर्णिमाको पर्वलाई बडो उत्साह र श्रद्धापूर्वक हर्षोल्लासलंगै मनाईने गरिन्छ। वास्तवमा प्राचीन समयमा जब विद्यार्थी गुरुको आश्रममा निःशुल्क शिक्षा ग्रहण गर्दथ्यो र गुरूपूर्णिमाको दिन श्रद्धा भावले प्रेरित भै आफ्नो गुरुलाई पूजन गरेर आफ्नो शक्ति सामर्थ्यानुसार दक्षिणा दिएर कृतकृत्य हुने सौभाग्य प्राप्त गर्थथ्यो।
मुण्डकोपनिषद् मा वाक्य छ " समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम्" अर्थात् स्वसामर्थ्यानुसार उपाहार लिएर श्रोत्रिय ब्रह्मनिष्ठ आचार्य गुरूको सान्निध्यमा जानु। अव "श्रोत्रियं ब्रह्मनिष्ठम्" शब्दको मूल अर्थ बुझौं। पहिला "श्रोत्रियम्" भनेको के हो? यसको अर्थ हो जसले वेद , उपवेद र वेदका छ अङ्ग( शिक्षा,कल्प, ज्योतिष,छन्द,व्याकरण र निरूक्त जसलाई षडङ्ग भनिन्छ ) को विधि पूर्वक अध्ययन गरेको छ तेस्तो आचार्यलाई श्रोत्रिय भनिन्छ।
"श्रोत्रियंश्छन्दोऽधीते(पाणिनी सू. 5 /2/84। तेस्तै "ब्रह्मनिष्ठम्" ब्रह्मणि निष्ठा यस्य स, तं ब्रह्मनिष्ठम् ।अर्थात् ब्रह्म(सत्य) मा निष्ठा छ जसको त्यसलाई लाई ब्रह्मनिष्ठ भनिन्छ। "औपनिषदब्रह्मात्मविज्ञानपूर्णं ब्रह्मनिष्ठम्" भनेर व्याख्या गरेको पनि पाईन्छ। अतः श्रोत्रिय ब्रह्मनिष्ठ गुरुकोमा गएर ज्ञान आर्जन गर्नु तर खाली हात न जानु। किनकी "समित्पाणिः" भनिएको छ। समित् भनेको समिधा र पाणिः भनेको हात ।अर्थात् समिधा(उपहार) लिएर जानु भनिएको हो।यस्तो नीति पनि छ " रिक्तपाणिर्न सेवेत राजानां देवतां गुरुम्"। राजा,देवता,र गुरुको सान्निध्यमा जादा खालिहात जानुहुदैन। गुरुलाई दिन योग्य उपहार लिएर जानु यदि निर्धनताले गर्दा उपहार दिन असमर्थ छ भने हवन गर्न योग्य सामग्री समिधा आदि जो प्रकृति प्रदत्त निःशुल्क प्राप्त गर्न सकिन्छ त्यहि लिएर जानुपर्दछ। समर्थवालाले श्रद्धापूर्वक विनयभावले अहंकारलाई त्यागेर यथाशक्ति बस्त्र, रत्न , फल-फूल ,आभूषण आदि अर्पित गर्नुपर्दछ। गीतामा पनि भगवानले भन्नुभएको छ ।-
"तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः।। (गीता 4/34)
अर्थात् उचित एवं विधिपूर्वक तत्त्वदर्शी ज्ञानी गुरूको सेवा गरी निष्कपटभावले परमात्मतत्व सम्बन्धी प्रश्न गर्नुपर्दछ। अनि मात्र तत्त्वज्ञान प्राप्त गर्न सकिन्छ। गुरूको सेवाविना ज्ञान प्राप्त गर्न असम्भव छ "गुरु सुश्रुषया विद्या"।
आज यो प्रकृया पूर्णरूपमा छैन तर पनि गूरूपूर्णिमाको महत्व आज पनि उत्तिकै रहेको पाईन्छ। अहिले पनि पारम्परिक रूपमा शिक्षा प्राप्त गर्ने स्थान, विद्यालय , संगीत र कला क्षेत्र, साथै आध्यात्मिक क्षेत्रसंग जोडिएका व्यक्ति , संङ्घ संस्थाहरू गुरूपूर्णिमा पर्वलाई मनाईरहेका हुन्छन्। यथा सम्भव गुरूलाई सम्मान गर्दछन्। किनकी वैदिक नीति हो "आचार्य देवो भवः "। आफ्नो आचार्यलाई देवतुल्य एवं आचार्य (गुरू) नै देव हुन् भन्ने भावना वेदले वताएको छ। तर विडम्वना आज गुरू शिष्यको यो भाव विरलै पाईन्छ। आधुनिक शिक्षालयमा त झनै दयनीय छ। शिक्षार्थीहरूले आफ्ना शिक्षकलाई हातपात गर्नेदेखि लिएर शौचालयमा घण्टौं बन्दगर्ने सम्मका कर्तुत सुनिन्छ।यो सवै घटना आचरण र संस्कारको कमि हुनाले घट्दछन्।
वास्तवमा भन्ने हो भने गुरूप्रति श्रद्धाभाव उत्पन्न हुन नसकेको खण्डमा ज्ञान प्राप्ति असम्भव छ।गुरूको सान्निध्यमा रहि प्राप्त गरिएको शिक्षा,दीक्षा एवं व्यवहारिक ज्ञान नै मानवको लागि भविष्यको सारथी हुनेगर्छ। त्यसैले आफ्नो लक्ष्य सिद्ध गर्नका लागि गुरूनिष्ठा हुनु जरूरी छ।
किनभने गुरु तत्व भनेको अलौकिक तत्व हो। गुरु तत्वको तुलना संसारमा कुनै पनि वस्तुसंग गर्न मिल्दैन। पारसमणिले त फलामलाई सुन सम्म मात्र वनाऊँछ ,अर्को पारसमणि वनाऊन सक्दैन। तर गुरूले त आफुसमान वनाऊदछन्। संसारसमुद्रमा फसेको जीवलाई माझी वनेर पार गराई परमात्मा प्राप्तिको वाटो देखाईदिन्छन्। अतः गुरु तत्व एऊटा यस्तो ज्योति हो जो आफु जलेर संसारलाई प्रकाश छरिरहेको हुन्छ। जो ब्रह्मा विष्णु महेश्वर को प्रतिक हुन् र साक्षात् परब्रह्म हुन् । जो ब्रह्मा वनि हामिमा ज्ञानको सृष्टी गराईरहेका छन्। विष्णु वनि ज्ञानको पालन र परिपक्वता वनाईरहेका छन्। महेश्वर वनि हामिमा रहेको अज्ञानान्धकारलाई संहार नष्ट गरिरहेका छन्। साथै परब्रह्मपरमात्मासंग साक्षात्कार गराईरहेकाछन्। त्यसैले हामि गुरु स्तुति गर्दा भन्ने गर्छौं "ॐ गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात्परं ब्रह्म तस्मै श्री गुरवे नमः।। अन्त्यमा,,--गुण देखी भिन्न र रुप देखि भिन्न गुरु तत्वमा हामि सवैको मन सदैव लागिरहोस्।
अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया। चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः।।