पोखरा, भदौ १८। रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न भारतको डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन र नेपालको बतास फाउन्डेसन बीच मानवीय सहकार्य भएको छ।
यस्तो सहकार्य गर्ने सम्बन्धी सम्झौतामा बिहीबार बतास फाउन्डेसनको तर्फबाट आनन्द राज बतास र मणिलाल भौमिकको तर्फबाट डा. सुरज कुमार पाठकले हस्ताक्षर गरेका हुन्। दुवै संस्थाले तत्काल राहत वितरणमा मात्र सीमित नभई प्रकोपका कारण अभिभावक गुमाएका तथा आर्थिक र सामाजिक रूपमा अत्यन्त कमजोर अवस्थामा पुगेका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा दीर्घकालीन सहयोग गर्ने घोषणा गरेका हुन्।
सहकार्यअन्तर्गत बाढी तथा प्राकृतिक प्रकोपका कारण अभिभावक गुमाएका १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षासम्म आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षा छाड्न बाध्य नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम अघि बढाइएको बताइएको छ।
दुवै संस्थाले प्राकृतिक प्रकोपपछिको चुनौती राहत सामग्री वितरणसँगै समाप्त नहुने उल्लेख गर्दै प्रभावित परिवारले जीविकोपार्जन, आवास, आम्दानीका स्रोत र बालबालिकाको शिक्षासँग सम्बन्धित दीर्घकालीन संकट सामना गर्नुपर्ने बताएका छन्।
फाउन्डेसनहरूले शिक्षालाई आपद्पश्चातको पुनर्स्थापनाको महत्वपूर्ण आधारका रूपमा लिँदै यो पहल केवल छात्रवृत्ति वितरण नभई प्रभावित बालबालिकामा आत्मविश्वास, अवसर र भविष्यप्रतिको आशा पुनर्स्थापित गर्ने दीर्घकालीन मानवीय लगानी भएको जनाएका छन्।
विश्वप्रसिद्ध भौतिकशास्त्री, लेजर वैज्ञानिक तथा परोपकारी डा. मणिलाल भौमिकको मानवीय दर्शनबाट प्रेरित फाउन्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य सेवा, महिला तथा बाल सशक्तिकरण र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ। एक्साइमर लेजर प्रविधिमा डा. भौमिकको अनुसन्धानले आधुनिक ढंगले आँखाको शल्यक्रियाको विकासमा महत्वपूर्ण आधार तयार पारेको मानिन्छ।
त्यसैगरी, बतास फाउन्डेसनले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, छात्रवृत्ति, विपद् राहत र समुदाय सशक्तिकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुवै संस्थाले यो सहकार्यलाई नेपाल-भारतबीचको ऐतिहासिक मित्रता र साझा मानवीय भावनाको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
“प्राकृतिक प्रकोपहरूले भौगोलिक सीमाहरू चिन्दैनन्, त्यसैले मानवीय सहायता पनि सीमाभित्र सीमित हुनु हुँदैन,” संयुक्त सन्देशमा भनिएको छ।
दुवै संस्थाले संकटमा सहयोग, पुनर्स्थापनामा सहकार्य र भविष्य निर्माणप्रतिको प्रतिबद्धतासहित बाढी प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्न दीर्घकालीन रूपमा सँगै काम गर्ने जनाएका छन्।