नारायणगढ, भदौ १३ गते । रसुवा बाढीमा परी चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिकाबमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो।
बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये चारवटाको पहिचान भएको छ। बाँकी शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
शवहरू सड्न थालेको र थप पहिचान गर्न कठिन अवस्था रहेकाले सम्भावित संक्रमणको जोखिमलाई समेत ध्यानमा राखी सम्मानजनक र कानुनी प्रक्रियाबाट व्यवस्थापन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
शव व्यवस्थापन गर्नुअघि आवश्यक नमुना संकलन गरी डीएनए परीक्षणका लागि सुरक्षित राखिने जनाइएको छ। शव तथा अवशेषलाई भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा गाड्ने तयारी गरिएको छ।
पहिचान नभएका शव गाडिएपछि पनि आफन्तले डीएनए परीक्षण तथा अभिलेखका आधारमा भविष्यमा सनाखत गर्न सक्ने व्यवस्था मिलाइने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो।
दाहसंस्कारका लागि दाउरा निःशुल्क
जलदेवी सामुदायिक वनले बाढीबाट मृत्यु भएकाहरूको दाहसंस्कारका लागि आवश्यक दाउरा निःशुल्क उपलब्ध गराउने भएको छ। चितवनमा भेटिएका शवको दाहसंस्कार गर्न आवश्यक परेमा दाउरा निःशुल्क उपलब्ध गराइने वनका सचिव माधव भुसालले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयले शव व्यवस्थापनका लागि गरेको अनुरोधअनुसार आफूहरूले जमिनसमेत उपलब्ध गराएको उहाँले बताउनुभयो।