काठमाडौं, भदौ १२ गते । रसुवाको भोटेकोशी हुँदै अस्ति बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४६९ पुगेको छ। प्रहरीले आठ जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको जनाएको छ।
सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा १७८, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा परी १ हजार ५४५ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका तीन जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत ८४ जना उपचारपछि डिस्चार्ज भएका छन्।
बाढीपछि रसुवामा १६१ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले जिल्ला विपद् व्यवस्थापन कार्यालयमा नाम टिपाएका छन्। यस्तै, रसुवामा नेपाली सेनाका ४५ सैनिक र नेपाल प्रहरीका २८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
कालिका गाउँपालिका–१, मैलुङमा श्री शेर गणका १८ जना र श्रीनाथ गणका पाँच जना सैनिकसमेत सम्पर्कविहीन रहेको बताइएको छ।
बाढीले नुवाकोटमा आठ वटा पक्की पुल, चार वटा झोलुङ्गे पुल र तीन वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ। धादिङमा चार वटा पक्की पुल र चार वटा झोलुङ्गे पुल ध्वस्त भएका छन्।
प्रहरीका अनुसार बाढी प्रभावित विभिन्न स्थानबाट ६ वटा हात, खुट्टा, पैताला तथा तिघ्राका अवशेषसमेत फेला परेका छन्। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।