काठमाडौँ, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबारदेखि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चिन्ता बढाएको थियो।
प्रतिकूल मौसम र बाढीको तीव्र बहावबिच अत्यन्तै जोखिमपूर्ण तथा चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नेपाली सेनाको टोलीले बिहीबार टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयवासीको सफलतापूर्वक उद्धार गरेको छ। टनेलभित्र अझै १०० जनाभन्दा बढी मानिस फसेको र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली उद्धारमा जुटिरहेको छ।
टनेलभित्रको जटिल तथा जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली) बाट जमदार भक्तजन बस्नेतको कमान्डमा १–३ को सैन्य टोली अहोरात्र खटिएको छ।
यसैगरी, बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट क्षेत्रमा पुगेर पनि नेपाली सेनाले उद्धार कार्यलाई निरन्तरता दिएको छ।
सीक्यूआरटी धुन्चे ब्यारेक, रसुवाबाट सहसेनानी अभिषेक शाहीको कमान्डमा खटिएको १–५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठुलो हाकु र हाकुवेशीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
आफ्नो ज्यानको प्रवाह नगरी उच्च साहस, तदारुकता र समर्पणका साथ उद्धारमा खटिएको नेपाली सेनाले बिहीबार रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीयवासी तथा मजदुरको उद्धार गरेको छ। सेनाको समयमै गरिएको उद्धारका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ।