पश्चिम नवलपरासी, भदौ ११ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा हालसम्म २६ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाका अनुसार फेला परेका शवमध्ये १५ जना पुरुष, ८ जना महिला र ३ जना बालबालिका रहेका छन्।
प्रहरीका अनुसार नदी नियन्त्रणका लागि निर्माण गरिएका एकदेखि १४ नम्बर ठोक्करसम्मको क्षेत्रमा शवहरू फेला परिरहेका छन्। नारायणी नदी किनारको ठोक्कर नम्बर ५ मा भने शवको एउटा खुट्टा मात्र फेला परेको प्रहरीले जनाएको छ।
शव खोजी तथा उद्धारका लागि आज बिहानैदेखि तीनवटै सुरक्षा निकायका टोली नारायणी नदी किनार क्षेत्रमा परिचालन गरिएको छ। फेला परेका शवको मुचुल्का तयार गरी परीक्षण तथा पहिचानका लागि पृथ्वीचन्द्र अस्पताल, परासी पठाइएको प्रहरीले जनाएको छ।
शव फेला पर्ने क्रम जारी रहेकाले स्थानीयवासी तथा सुरक्षा निकायले नदी किनार क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएका छन्।
नारायणी नदीको बहावसँगै शवहरू भारततर्फ समेत बगेको हुनसक्ने आशंका गरिएको छ। सोही कारण भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमावर्ती क्षेत्रमा समेत निगरानी बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार भारतको सीमावर्ती क्षेत्रमा समेत केही शव फेला परेको जानकारी प्राप्त भएको छ। उक्त विषयमा थप विवरण बुझ्ने काम भइरहेको उहाँले बताउनुभयो।