काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाले पाँच वटा हेलिकोप्टरसहित दुई हजारभन्दा बढी सैनिक परिचालन गरेको छ । सेनाले बिहीबार बिहानसम्म हवाई र जमिनी साधनबाट १७७ जनाको उद्धार गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गीअड्डाका अनुसार हवाई साधनबाट ११४ र जमिनबाट ६३ जनाको उद्धार गरिएको हो । हवाई उद्धार गरिएका ११४ जनामध्ये भदौ १० गते ९७ जना, बिहीबार बिहान मैलुङस्थित टनेलबाट तीन जना र टिमुरेबाट १४ जना रहेका छन् ।
बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि नुवाकोटदेखि चितवनसम्म दुई हजारभन्दा बढी सैनिक परिचालन गरिएको छ । सैनिक टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरणको कामसमेत गरिरहेको निर्देशनालयले जनाएको छ ।
सेनाले रातभर ११ वटा टोली परिचालन गरी प्रभावित क्षेत्रमा जमिनी उद्धार कार्य गरेको थियो । बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री ११ वटा ट्रकमार्फत त्रिशूलीसम्म पुर्याई त्यहाँबाट हेलिकोप्टरमार्फत आवश्यकता र पहुँचका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ ।
हालसम्म राहत सामग्रीका चार खेप टिमुरे पुर्याइएको सेनाले जनाएको छ । प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि मेडिकल टोलीसमेत थप गरी त्रिशूलीमा स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा स्वास्थ्य सेवा एकसाथ सञ्चालन गरिएको र आवश्यकता अनुसार थप जनशक्ति तथा साधन परिचालन गरिने सेनाले जनाएको छ ।