काठमाडौं, भदौ १० — राजा ज्ञानेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा उपचारका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
बुधबार देशवासीका नाममा जारी सन्देशमा शाहले चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपरासीका जलतटीय क्षेत्रका बजार, बस्ती, सडक, पुलपुलेसा, विद्युत् आयोजना, भौतिक संरचना तथा खेतीपातीमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।
उनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता नागरिकको तत्काल खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका छन्।
राजाले विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्। सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघ–संस्था तथा आम नागरिकले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपद्मा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनुपर्ने उनको भनाइ छ।
सीमासँग जोडिएको छिमेकी देशमा आएको प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा विदेशीसहित संयुक्त प्रयास प्रभावकारी हुन सक्ने विषयमा सबैले मनन गर्न आवश्यक रहेको बताएका छन्।
सन्देशको अन्त्यमा उनले “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्” भन्दै ‘जय नेपाल’ उल्लेख गरेका छन्। सन्देश निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको हो।