काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालतको फैसला आफूहरूले स्वीकार गर्ने र अब पार्टी एकता कायम राख्ने जिम्मेवारी सभापति गगन थापाको काँधमा आएको बताएका छन्।
सर्वोच्चले गगन पक्षलाई आधिकारिकता दिएपछि काठमाडौँको गोल्फुटारस्थित पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काको निवासमा निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता विश्वकर्माले उक्त भेटघाट केवल अनौपचारिक छलफल र परामर्शका लागि राखिएको बताए।
उनले पार्टीभित्रको कानुनी विवाद अन्त्य भएसँगै अब सबैले मिलेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए। अदालतको फैसलामा प्राविधिक वा आधारभूत विषयमा केही असहमति रहे पनि नेपाली कांग्रेस कानुनी राज्य र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने पार्टी भएकाले फैसलालाई स्वीकार गर्ने उनको भनाइ छ।
उनले भने, ‘अदालतको फैसला आएपछि अब पार्टीलाई एकताबद्ध बनाएर कसरी लैजान सकिन्छ भन्नेबारेमा हामीले परामर्श गरेका छौँ। यो कुनै आधिकारिक बैठक होइन, अनौपचारिक भेटघाट हो। पहिले शेरबहादुर देउवाको खुट्टामा रहेको बल अहिले सर्वोच्च अदालतले गगन थापाको खुट्टामा फालिदिएको छ। अब उहाँले नै पार्टीलाई कसरी एकताबद्ध बनाउने, कसरी ठूलो बनाउने र सबैलाई समेटेर एक ढिक्का हुने वातावरण सिर्जना गर्ने भन्नेमा विशेष पहलकदमी लिनुपर्छ।’
उनले सर्वोच्चको फैसलापछि अब पार्टीको नेतृत्व विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको हातमा पुगेको उल्लेख गर्दै यसको राजनीतिक स्वामित्व पनि अब उनले नै लिनुपर्ने बताए।
उनले पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको सुझाव र परामर्श लिएर अघि बढ्ने र यसका लागि केही समय लाग्ने उल्लेख गरे।
त्यसैगरी, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। बैठक आइतबार बस्ने छ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएपछि खड्काले शनिबार आफूनिकट शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
गोल्फुटारस्थित खड्का निवासमा बसेको बैठकमा नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाश शरण महत, रमेश लेखकलगायत सहभागी भए। बैठकमा शेखर कोइराला पक्षका नेताहरू भने सहभागी नभएको बताइएको छ।
विशेष महाधिवेशनबाट थापा नेतृत्वमा कांग्रेसले नयाँ कार्यसमिति चयन गरेपछि तत्कालीन सभापति शेरबादुर देउवा पक्षले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत गएकोमा अदालतले शुक्रबार कांग्रेसको आधिकारिकता गगन पक्षलाई दिएको थियो।
पार्टी आधिकारिकता गगन पक्षले पाएसँग देउवापक्षका नेताहरू अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
कतिपय देउवा पक्षका नेताहरूले गगन पक्षलाई अदालतले आधिकारिकता दिए पनि आफूहरूले गगनलाई सभापति नमान्ने बताउने गरेका छन्।