काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । बालेनले शपथ लिनका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा शुभसाइत पठाएका थिए ।
बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग समेत गरेका छन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा फगत शपथ मात्रै हुने गरेकामा यो पटक उनले राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रयोग गरेका हुन् ।
नयाँ प्रयोग यसअर्थमा कि उनले शपथअघि वैदिक परम्परालाई पनि स्मरण गराए । उनले शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो ।
योग र अध्यात्मका अनुसार मानव शरीरमा सातवटा मुख्य ऊर्जाहरू (चक्र) हुन्छन्। शंखको ध्वनिले उत्पन्न गर्ने कम्पनले ती सात च्रकहरू मूलाधारदेखि सहस्रारसम्मलाई जागृत र सन्तुलित बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ।
त्यस्तै, ७ वटा शंख बजाउनुलाई सप्तऋषिको उपस्थिति र आशीर्वाद प्राप्त गर्ने माध्यमको रूपमा लिइन्छ।
सातको संख्यालाई पूर्णताको प्रतीक मानिने हुनाले, यसले पूर्ण विजय, सुख र समृद्धिको संकेतसमेत गर्ने हिन्दु धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यस्तो प्रयोग शपथमा पहिलो पटक भएको बताइएको छ ।
शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।
यसअघि राष्ट्रपति पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
बालेन नेतृत्वको सरकारमा उनीसहित १५ जना मन्त्री भएका छन् ।
संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइने भए पनि मन्त्रालय संख्या घटाएर १५ मा झार्न लागिएको हो।
रास्वपाले चुनावी वाचामा पनि मन्त्रालय संख्या घटाउने उल्लेख गरेको थियो।
बालेन प्रधानमन्त्री सहित रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।
सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।
सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।
यी सबैले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ खाइसकेका छन् ।