काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार ६८ वटा राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्रतर्फ १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गरेका हुन् । यससँगै प्रतिनिधिसभा निर्वाचन औपचारिक रूपमा प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरेको छ ।
अघिल्ला निर्वाचनको तुलनामा यस पटक उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढेको छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ र २०७४ सालमा १ हजार ९४४ जनाले उम्मेदवारी दिएका थिए । नाम फिर्ता लिने तथा दाबी–विरोधको प्रक्रियापछि उम्मेदवारको संख्या केही घट्न सक्ने आयोगले जनाएको छ ।
कुल उम्मेदवारमध्ये ३ हजार ८८ पुरुष, ३९५ महिला र अन्य समूहका एक महिला रहेका छन् । लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्दै समावेशी समाजवादी पार्टीले आफ्ना तर्फबाट ६ जना उम्मेदवार उठाएको जनाएको छ । उमेर समूहका आधारमा २५ देखि ३५ वर्षका ५८३, ३६ देखि ५० वर्षका १ हजार ६१०, ५१ देखि ६५ वर्षका १ हजार ९० र ६५ वर्षमाथिका २०१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस पटक प्रमुख राजनीतिक दलहरूबीच कुनै औपचारिक चुनावी गठबन्धन छैन । नेपाली कांग्रेस र नेकपा एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले १६४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १६३–१६३, नेपाल मजदुर किसान पार्टीले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टीले १०८, आम जनता पार्टीले १०२, जनता समाजवादी पार्टी नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टीले ९२ र जनमत पार्टीले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
प्रमुख नेताहरू आ–आफ्ना क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपा अध्यक्ष पुष्पकमल दाहाल रुकुम पूर्व र रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बनेका छन् । रास्वपाले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेका बालेन्द्र शाह पूर्वप्रधानमन्त्री ओलीलाई चुनौती दिन झापा–५ बाट मैदानमा उत्रिएका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३, जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी–२ र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट प्रतिस्पर्धामा छन् । धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सुनसरी–१ बाट उम्मेदवार बनेका छन् । यस पटक कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने उम्मेदवार छैनन् । उनी २०४८ सालयताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका थिए ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी धनुषा–३ मा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त क्षेत्रमा १ लाख २५ हजार ९२७ मतदाता छन् । सबैभन्दा कम उम्मेदवारी मनाङमा परेको छ, जहाँ ५ जनाले मात्रै उम्मेदवारी दिएका छन् । मनाङमा करिब ७ हजार मतदाता रहेका छन् ।
उम्मेदवारहरूले सम्बन्धित निर्वाचन क्षेत्रमा खोलिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गराएका थिए । तोकिएको समयभित्र कार्यालय परिसरमा प्रवेश गरेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्था थियो । कतिपय क्षेत्रमा साँझसम्म पनि निवेदन र कागजातको रुजु प्रक्रिया जारी रहेको थियो ।
निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उजुरी दर्ता गर्न सकिने आयोगले जनाएको छ । उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुका उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ । उम्मेदवारले चाहे शुक्रबार बिहान १० देखि १ बजेसम्म नाम फिर्ता लिन पाउनेछन् । त्यसपछि त्यही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले १३ र १४ पुसमै बन्दसूची बुझाइसकेका छन् । समानुपातिकतर्फ ५७ दल प्रतिस्पर्धामा छन् ।
मंगलबारको उत्साहपूर्ण मनोनयनपछि प्रधानमन्त्री सुशीला कार्कीले यो प्रक्रिया लोकतन्त्रका लागि महत्वपूर्ण कोशेढुंगा भएको प्रतिक्रिया दिएकी छन् । निर्धारित समयभित्र मनोनयन दाखिला गर्ने राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताइन् । ‘हाम्रा सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् । अब मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भएको छ । सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
जेन–जी विद्रोहपछि २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेका थिए । पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारलाई प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य जिम्मेवारी तोकिएको थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन प्रक्रिया अत्यन्त उत्साहजनक र शान्तिपूर्ण भएको बताए । सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवार निर्वाचनमा सक्रिय रूपमा सहभागी भएको उल्लेख गर्दै उनले अब मतदाताले स्वतन्त्र रूपमा आफ्नो अधिकार प्रयोग गर्ने समय आएको बताए । ‘निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी भइसकेको छ । अब निर्वाचन प्रक्रिया मात्रै बाँकी छ,’ उनले भने ।
भण्डारीका अनुसार प्रचारप्रसार आयोगले तोकेको अवधिभित्र मात्रै गर्न पाइनेछ । ४ देखि १८ फागुनसम्म उम्मेदवारले प्रचार गर्न पाउनेछन् भने खर्चको सीमा र आचारसंहिता कडाइका साथ लागू गरिनेछ । आचारसंहिता उल्लंघन भए प्रमाणसहित उजुरी आएमा विधिसम्मत प्रक्रिया पूरा गरेर कारबाही हुने उनको भनाइ छ ।
आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ । ‘नेपालको निर्वाचनलाई विश्वले हेरिरहेको छ । सही ढंगले निर्वाचन सम्पन्न भएको सन्देश विश्वलाई पुग्नुपर्छ,’ आयोगको भनाइ छ ।