काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयले मान्यता पाउने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले गरेको दाबी स्वतः अस्वीकृत भएको छ।
अब प्रत्यक्ष मनोनयनदेखि अन्य काम–कारबाहीमा गगन–विश्व समूहका निर्णय र गतिविधि आधिकारिक मानिनेछ। विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको छ।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको हो।
आयोगले गगन थापा पक्षलाई वैधानिकता दिनुका तीन प्रमुख आधार देखाएको छ।
-४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यकारी व्यवस्था ।
-विधानअनुसार महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुनु ।
-विधानसम्मत प्रक्रियाबाट विशेष महाधिवेशन सम्पन्न हुनु ।
आयोगको निर्णयपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र कसैलाई काखापाखा नगरिने बताएका छन्।
निर्वाचन आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘हामी कसैलाई काखा–पाखा गर्दैनौँ। कांग्रेस पार्टी भृकुटीमण्डलमा आयोजित विशेष महाधिवेशनमा सहभागी नहुनेहरूको पनि हो।’
उनले थपे, ‘टिकट वितरणमा कसैले हारेको महसुस गर्नुपर्दैन। जित–हारको रूपमा लिएर जाने अवस्था सिर्जना हुँदैन। कसैप्रति प्रतिशोध राखिँदैन।’
सभापति थापाले यसअघि तय गरिएअनुसार वैशाखमै नियमित महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘आजैदेखि एकढिक्का भएर पार्टीको काममा लागौँ।’
उपसभापति विश्वप्रकाश शर्माले पार्टी नयाँ चरणको सक्रियतामा प्रवेश गरेको बताएका छन्।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस नवीन कांग्रेस बन्ने बाटोमा प्रवेश गरेको बताएका हुन्।
‘जे भएको छ, यसलाई नवीन नेपालका लागि नवीन कांग्रेसको रूपमा लिनुपर्छ। कसले नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह लिने भन्ने दाबीहरू पनि भए। आयोगको निर्णय विशेष महाधिवेशनको पक्षमा गयो भने आन्दोलन गर्ने भन्ने कुरा पनि सुनियो,’ उनले भने, ‘पार्टीका सबै श्रद्धेय अग्रजहरूलाई नम्र अनुरोध छ—अब पुराना आवेगका कुरा बिर्सिनुपर्छ। एक भएर उभिनुपर्छ।’
उनले सबैलाई अब चुनावको तयारीमा जुट्न आग्रह पनि गरे। ‘माघ ६ गते उम्मेदवारी दर्ता गर्नुछ। गगन थापा नेतृत्वको कांग्रेस उम्मेदवार छनोटमा जुटिरहेको छ। साथीहरूले लिस्टिङ गरिरहनुभएको छ। भोलि बैठक बसेर त्यसलाई हेरी पार्टीको कामको गति अघि बढाउँछौँ,’ उनले भने, ‘विशेष महाधिवेशनलगत्तै नेपाली कांग्रेस परिचालन समिति, घोषणा पत्र समिति र संसदीय बोर्डबारे निर्णय भइसकेको छ। अद्यावधिकको काम पनि आजै सकिएको छ।’
उता, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयको विरोध जनाएको छ। अब अदालत जाने वा ‘कलश’ चुनाव चिन्ह लिएर निर्वाचनमा जाने विषयमा भोलि बैठक बसेर निर्णय गर्ने स्रोतले जनाएको छ।
स्मरण रहोस्, २०५९ सालमा नेपाली कांग्रेस फुटेपछि देउवा पक्षले ‘कलश’ चुनाव चिन्हबाट निर्वाचन लडेको थियो।