काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भेटले जेन–जी पुस्तामा खुसीको तरंग पैदा गरेको छ।
लामो समयदेखि वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने दबाब सिर्जना गर्दै आएको जेन–जी समुदाय सोमबार भएको रवि–बालेन वार्तापछि उत्साहित देखिएको हो।
राजनीतिक एकताको सम्भावनाबारे भएको उक्त भेटलाई जेन–जीहरूले सकारात्मक संकेतका रूपमा लिएका छन्। विशेषगरी रवि र बालेनबीच प्रधानमन्त्री पदसम्मको सम्भावित बाँडफाँटको विषयमा समेत समझदारी बनेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरू एकताको दिशामा नजिक पुगेको आकलन जेन–जी वृत्तमा हुन थालेको छ। पुराना दल र परम्परागत राजनीतिक संरचनाबाट निराश बनेको जेन–जी पुस्ताले यो भेटलाई नयाँ राजनीतिक सम्भावनाको ढोका खुलेको रूपमा हेरेको देखिन्छ।
रवि–बालेन वार्ताले आफूहरूलाई थप उत्साही र आशावादी बनाएको बताउँदै द काउन्सिल अफ जेन–जीका अगुवा सुदन गुरुङले अब यस प्रक्रियामा कुलमान घिसिङलाई जोड्न आवश्यक रहेको धारणा राखे। उनका अनुसार वैकल्पिक र भरोसायोग्य नेतृत्वको खाँचो रहेको वर्तमान अवस्थामा रवि, बालेन र कुलमानजस्ता पात्रहरू एक ठाउँमा आएमा जेन–जी पुस्ताको समर्थन स्वतः संगठित हुने सम्भावना उच्च छ।
यदि रवि, बालेन र कुलमान एउटै राजनीतिक धारमा उभिए भने आफूहरू पनि सोही शक्तिसँग जोडिने सम्भावना प्रवल रहेको संकेत गुरुङले गरेका छन्। यो अभिव्यक्तिले जेन–जी पुस्ता केवल समर्थनकर्ता मात्र नभई सक्रिय राजनीतिक सहभागिताका लागि तयार अवस्थामा रहेको देखाउँछ।
जेन–जीका अर्का नेता उपार्जुन चामलिङले पनि रवि–बालेन भेटलाई सकारात्मक रूपमा लिँदै यसले वैकल्पिक राजनीतिलाई व्यवहारिक चरणतर्फ लैजाने विश्वास व्यक्त गरे। जेन–जी फ्रन्टका अगुवा युजन राजभण्डारीले वैकल्पिक शक्ति एक हुने विषयमा भएको छलफलको प्रारम्भलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताउँदै यसलाई निरन्तरतामा लैजानुपर्ने आवश्यकता औंल्याए।
रवि र बालेनको भेटलाई रक्षा बम, तनुजा पाण्डे लगायत जेन–जी आन्दोलनमा कमाण्ड सम्हालेका युवाहरूले पनि सकारात्मक रूपमा लिएको पाइएको छ। उनीहरूको बुझाइमा यो भेट केवल व्यक्तिगत संवाद होइन, बरु नयाँ पुस्ताको राजनीतिक आकांक्षालाई संस्थागत रूप दिने सम्भावनाको संकेत हो। समग्रमा रवि–बालेनको भेटले जेन–जी पुस्तामा आशा, उत्साह र नयाँ राजनीतिक विकल्पप्रतिको भरोसा थप बलियो बनाएको देखिन्छ।