काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजन्य शब्द प्रयोग गर्दै समग्र महिलाकै अपमान गरेको आरोप लगाएकी छिन्।
काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उपाध्यक्ष शाक्यले भनिन्,‘‘धामी, झाँक्री भनेको के हो?,’ उनको प्रश्न, ‘यस्तो अपमान गर्न पाइन्छ? सामान्य मान्छेलाई त गर्न पाइँदैन, अझ पूर्वराष्ट्रपतिलाई यो शब्दले अपमान गर्न पाइन्छ।,’
एमाले अध्यक्ष ओलीले एक मिडियासँगको कुराकानीमा भण्डारीप्रति लक्षित गर्दै ‘धामीले जस्तो ढ्याङ ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने’ भनेर प्रश्न गरेका थिए ।
शाक्यले नेतृत्वमा रहने मान्छेले यस्तो अभिव्यक्ति दिन नसुहाउने भए पनि ओलीले त्यही गरिरहेको र महिलाप्रतिको दृष्टिकोण नै खराब रहेको आरोप लगाइन्। ‘यो हद नेतृत्वलाई सुहाउँदैन, यो नेतृत्वले गर्न नै हुँदैन तर, गर्न हुन्छ, कसले गर्न हुन्छ?,’ उनले भनिन्, ‘केपी कमरेडले गर्न हुन्छ। किनभने उहाँको सोचै छैन। महिलाप्रति हेर्ने दृष्टिाकोण नै छैन। महिलालाई अपमान गरेको गर्यै छ।’
अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको भन्दै शाक्यले यस्ता शब्द प्रयोग गर्नु महिलाहरुको अपमान भएको बताइन। उनले यस्तो नेतृत्व आवश्यक नरहेको समेत टिप्पणी गरिन।
‘महिला हिंसाविरुद्धको अभियान चलिरहेको बेलामा यो शब्द प्रयोग गर्नु भनेको यो सबै महिलाको अपमान हो,’ उनको भनाइ छ, ‘यसका विरुद्धमा सशक्त आवाज उठाउनुपर्छ। यस्तो नेतृत्व अब आवश्यक होइन्।’
शाक्यले पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएकी छन्।
उपाध्यक्ष शाक्यले पार्टीको वर्तमान नेतृत्वका कारण कम्युनिस्ट आन्दोलनका साथै पार्टीको विचार कमजोर हुँदै गएको भन्दै अब पार्टीलाई सशक्त रूपमा अघि बढाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी हुन्।
नेतृत्वमा बसेकाले आफ्नो व्यवहार र शैलीमा रूपान्तरण गर्नुपर्नेमा अहिलेसम्म त्यस्तो अनुभव गर्न नपाएको उनले बताइन्। शाक्यले अहिलेको नेतृत्वसँग परिवर्तनको सोच नै नभएकाले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि लैजान नसक्ने भएकाले महाधिवेशनमार्फत ईश्वर पोखरेलको नेतृत्वमा पार्टीलाई विधिसम्मत ढङ्गले अघि बढाउनुपर्ने धारणा राखिन्। विचारका हिसाबले, व्यवहारिक हिसाबले अब ईश्वर पोखरेललाई नै अघि सार्नुको विकल्प नभएको उनको भनाइ छ।
त्यस्तै शाक्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केपी ओलीले गरेको टिप्पणी आपत्तिजनक भएको बताइन्। उनले एउटा पूर्व राष्ट्रपतिलाई ’धामी, झाँक्री’ भन्दै अपमान गरेको भन्दै महिलालाई सम्मान गर्न नसक्ने नेतृत्व पार्टीलाई आवश्यक नरहेको जिकिर गरिन्।
कार्यक्रममा एमाले नेतृहरू बिन्दा पाण्डे, उषाकिरण तिम्सेना, शर्मिला कार्कीलगायतले एमाले अध्यक्ष ओली गलत नेता भएको चित्रण गरेका थिए ।
पार्टीमा सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै सहमति नभए लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए।
साथै उनीहरूले महाधिवेशनका लागि प्रतिनिधि चयन भइसकेको अवस्थामा विधान संशोधन हुनै नसक्ने समेत धारणा राखेका थिए।