चितवन । पार्टीको आगामी कार्यदिशा र चुनावी रणनीति तय गर्न चितवनको सौराहामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ ।
बैठकमा आगामी निर्वाचन रणनीति, पार्टी संगठन विस्तार, र पार्टीको विचार–सिद्धान्तबारे थप स्पष्टता ल्याउने विषयमा छलफल भइरहेको छ ।
देशभरका केन्द्रीय सदस्यदेखि विभिन्न जिम्मेवार नेताहरूले यस बैठकमा सहभागिता जनाइरहेका छन् ।
पार्टीका सभापति रवि लामिछाने अहिले नख्खु जेलमा रहेका कारण कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले सम्हालिरहेका छन् ।
रास्वपामा जनताको आकर्षण मुख्यतः सभापति लामिछानेप्रति केन्द्रित रहेकोले आगामी निर्वाचनमा रास्वपा अझ बलियो भएर उदाउने धेरैको विश्लेषण छ ।

बैठकमा विभिन्न नेताहरूले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टीभित्र आत्मकेन्द्रित र अरूको खुट्टा तान्ने प्रवृत्ति हावी हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । पार्टीका गतिविधि र नेताकार्यकर्ताको कार्यशैलीमाथि आत्मसमीक्षा गर्न उनले सबै सदस्यलाई आग्रह गरे ।
चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विगत ४० महिनाको छोटो अवधिमा पार्टीले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताए ।
उनले बामे सर्न थालेको बालक तुरुन्त दौडिन नसक्ने उदाहरण दिँदै समयभन्दा अघि अप्राकृतिक अपेक्षा राख्दा पार्टी नै कमजोर बन्न सक्ने तर्क गरे । कार्यवाहक सभापति अर्यालले पार्टीमा ‘टिम’ भावना अभाव भइरहेको महसुस भएको बताए ।
‘हामी भर्खरै पार्टी बन्ने प्रक्रियाको सुरुवाती चरणमा छौं, सिक्दै र हुर्कँदैछौं । तर हामीमध्ये कतिपयलाई दौडिन हतार भइसकेको छ,’ उनले भने, ‘टिम नबन्दासम्म हामीलाई टिम चाहिन्छ, तर टिम बनेपछि एक्लै गर्न सक्छौं भन्ने लाग्छ । यो प्रवृत्तिले हामीलाई निकै गाँज्दै लगेको जस्तो लाग्छ ।’
उनले पार्टीका नेता तथा कार्यकर्तालाई अरूलाई दोष दिनेभन्दा पहिले आफ्नो जिम्मेवारी बोध गर्न आग्रह गरे । पुराना पार्टीहरूको औचित्यमाथि प्रश्न उठिरहेको बेला रास्वपा पनि ‘तिललाई पहाड’ बनाएर आन्तरिक कलहमै फस्ने खतरा रहेको उनले औंल्याए ।
‘यो पार्टी ठूलो र राम्रो हुँदा जस लिने पनि हामी हौं, खुम्चिँदा अपजस लिनुपर्ने पनि हामीले नै हो । तर बैठकमा उपस्थित कतिपय सदस्य आफूलाई नभई अरूलाई प्रश्न गर्ने, खिसीटिउरी गर्ने वा बदनाम गर्ने नियतले आएका छन् ?’ उनले भने, ‘रास्वपालाई कमजोर बनाएर तपाईं–हामी कहिल्यै बलियो हुन सक्दैनौं । मझेरी खनेर आँगन पुर्ने काम हामीले गर्नुहुँदैन ।’
आगामी चुनावमा पार्टीले जित्नैपर्ने दबाब रहेको बताउँदै अर्यालले त्यसका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले पार्टीले जित्ने उम्मेदवार बाहिर खोज्नुभन्दा आफ्नैभित्रबाट तयार गर्न नसक्नुको जिम्मेवारी सबैले लिनुपर्ने बताए ।
‘हामीमध्ये धेरैलाई चुनाव जित्न सकिन्छ भन्ने लागेको छ, तर राम्रो उम्मेदवार चाहिन्छ । यसको अर्थ हामी आफैंलाई चुनाव जित्ने किसिमको योग्य ठानेका छैनौं,’ उनले भने ।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले वैधानिकता, एजेन्डा र अपेक्षित परिणामबारे बैठकमा विस्तृत छलफल हुने जानकारी दिए ।
उनका अनुसार, पार्टीको विधानले पहिलो महाधिवेशन नहुन्जेलसम्मको सङ्क्रमणकालीन अवस्थामा केन्द्रीय समितिलाई विशेष अधिकार दिएको छ । सोही अधिकार प्रयोग गर्दै र फराकिलो दायरामा छलफल गर्न केन्द्रीय समितिले यो विस्तारित बैठक आयोजना गरेको उनले बताए ।
‘यो बैठक कर्तव्यबोध र उदारताका साथ आयोजना गरिएको हो,’ विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो ६० जनाको सामूहिक विवेकभन्दा अझ फराकिलो ढङ्गले राय, विमर्श र चिन्तन गरौं भन्ने उद्देश्य हो ।’
वाग्लेले बैठकमा मुख्यतया पाँचवटा प्रस्तावमाथि घनिभूत छलफल हुने बताए ।
सभापति रवि लामिछानेविरुद्ध भएको ‘राजनीतिक प्रतिशोध’ विरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रगति र त्यसबाट प्राप्त जनसमर्थनबारे संयोजकले प्रतिवेदन पेस गर्ने जानकारी पनि वाग्लेले दिए ।
आगामी संघीय निर्वाचनलाई लक्षित गरी तयार पारिने वाचापत्रको प्रारम्भिक खाका र मोडालिटी उपसभापति वाग्ले आफैंले प्रस्तुत गर्नेछन् । बैठकले निर्वाचनका लागि उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे सहमहामन्त्रीले प्रस्ताव पेस गर्नेछन् ।
वाग्लेले यो बैठकले पार्टीलाई २१ सिटबाट बहुमतको लक्ष्यतर्फ अघि बढाउन बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, बैठकमा उठेका राय, सुझावहरूलाई वैज्ञानिक र लोकतान्त्रिक ढङ्गले सङ्कलन गरी पार्टीको रणनीति परिमार्जन गरिनेछ ।
हाल देश असामान्य राजनीतिक र संवैधानिक अवस्थाबाट गुज्रिरहेको र विभिन्न शक्तिबीच ध्रुवीकरण भइरहेको सन्दर्भमा रास्वपाले वैकल्पिक शक्तिको नेतृत्व कसरी गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ । बैठकको अन्त्यमा ‘चितवन घोषणापत्र’ जारी गर्ने प्रारम्भिक योजना रहेको पनि वाग्लेले बताए ।
‘न्याय र एकताको सन्देश दिँदै हामी एकढिक्का छौं । रास्वपा नै मुलुकको नयाँ, सशक्त र जिम्मेवार शक्ति हो भन्ने सन्देश दिनेछौं,’ उनले भने ।

बैठकमा कार्यवाहक सभापति अर्यालले पार्टीको वर्तमान राजनीतिक अवस्था, सुशासनको पक्षमा भएका हस्तक्षेप र आगामी रोडम्याप समेटिएको प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको वर्तमान संगठनात्मक स्वरूपको समीक्षा र सुधारका प्रस्ताव प्रस्तुत गर्नेछन् ।
जेन–जी आन्दोलनपछि पुराना दलहरू संकटको डिलमा पुगेका कारण रास्वपा लगायतका नयाँ दलप्रति जनआकर्षण बढ्दो छ । अहिले सुशीला कार्कीको नेतृत्वमा बनेको जेन–जी सरकारले देश सञ्चालन गरिरहेको छ ।