काठमाडौँ । देशको वाम राजनीतिमा ऐतिहासिक मोड आउने संकेत देखिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित आठ राजनीतिक दल आज बृहत् कम्युनिष्ट एकता घोषणा गर्दैछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज दिउँसो अन्य वामपन्थी दलका शीर्ष नेतासँगै एउटै मञ्चमा उभिने छन् । आठवटै दलले यसअघि नै लिखित सहमति गरी एकताको खाका तय गरिसकेका छन् । सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलहरूले आज दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा संयुक्त रूपमा पार्टी एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।
एकीकृत पार्टीको नामबारे अन्तिम निर्णय आजै गरिनेछ । “नेपाली कम्युनिस्ट पार्टी” वा “नेकपा समाजवादी केन्द्र” नाममध्ये कुनै एकलाई आधिकारिक नामका रूपमा सार्वजनिक गरिने तयारी छ । पार्टीको साझा चुनाव चिन्ह पाँच कुने तारा रहने सहमति समेत भइसकेको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिले पनि पार्टी एकताको प्रस्ताव पारित गर्दै एकीकरणको बाटो औपचारिक रूपमा खुला गरिसकेको थियो ।
माओवादी केन्द्रका संयोजक प्रचण्डले एमालेका असन्तुष्ट नेता डा. भीम रावललगायतका नेताहरूसमेतलाई एकता प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेको बताएका छन् । आजको ऐतिहासिक सभालाई प्रचण्ड, माधवकुमार नेपाल, चिरन पुन, राजु कार्की लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य वामपन्थी दलहरू गरी आठ राजनीतिक दलले आइतबार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने नेताहरूमा माओवादी केन्द्रका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंह रहेका छन् ।
सहमति पत्र अनुसार, एकीकृत पार्टीको वैचारिक आधार मार्क्सवाद र लेनिनवाद रहनेछ । साथै, आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यदि यो एकता दीर्घकालीन रूपमा टिक्न सक्यो भने, यही नयाँ शक्ति नेपालको कम्युनिष्ट आन्दोलनको केन्द्रीय धारा बन्न सक्छ ।
जेन–जी आन्दोलनपछि कमजोर र आन्तरिक अस्थिरताबाट गुज्रिरहेको एमालेको अवस्थालाई मध्यनजर गर्दै प्रचण्ड र माधवकुमार नेपालको एकीकरणले यो अवसरलाई नयाँ राजनीतिक स्वरूप निर्माण गर्ने अवसरका रूपमा लिएको छ ।
यस बृहत् एकीकरणले लामो समयदेखि विखण्डित रहेका कम्युनिष्ट समर्थकहरूमा नयाँ ऊर्जा र आशा जगाएको देखिन्छ ।