काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।
मन्त्रालयका प्रवक्ताले अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्दै भनेका छन्, “चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुशीला कार्कीलाई हार्दिक बधाई छ। चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।”
उनले थपे, “चीनले सधैंझैं नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ।”
चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने स्पष्ट संकेत दिएको छ। आइतबार प्रवक्ताले भने, “हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तलाई प्रवद्र्धन गर्ने, विभिन्न क्षेत्रमा आदान–प्रदान र सहयोगलाई सुदृढ बनाउने, र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौं।”
राजनीतिक विश्लेषकहरूको भनाइमा, नेपालको पछिल्लो राजनीतिमा दलहरूको भ्रष्टाचार र खराब आचरणका कारण सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले चीन सहितका विकसित मुलुकहरूमा विशेष सकारात्मक सन्देश दिएको छ।
उनीहरूको मूल्याङ्कन अनुसार, हालैको आन्दोलन र कांग्रेस–एमालेको भ्रष्ट गतिविधिलाई नजिकबाट नियालिरहेका कारण यस अन्तरिम सरकारलाई चौतर्फी सद्भाव मिलिरहेको छ।
यसअघि अमेरिका, बेलायत, जापान, भारत, युरोपेली मुलुकहरू र संयुक्त राष्ट्रसंघलगायतका शक्तिशाली निकायले पनि कार्कीलाई बधाई दिइसकेका छन्।
०४६ सालपछि विश्वभरबाट सबैभन्दा धेरै बधाई प्राप्त गर्ने सरकारका रूपमा सुशीला कार्कीको सरकार ऐतिहासिक बनेको छ।