काठमाडौँ । ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोध र भ्रष्टाचार अन्त्यको माग गर्दै युवा पुस्ता (जेन–जी)ले आज राजधानीसहित देशका विभिन्न स्थानमा विशाल प्रदर्शन गरेका छन् ।
विहानैदेखि राजधानीको माइतिघरमा स्कुल, कलेज र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरू प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूलाई समाजका विभिन्न पेशाका व्यक्तिहरूले समर्थन जनाएका छन् ।
एमाले बाहेकका सम्पूर्ण दलहरुका नेता तथा कार्यकर्ताले पनि समर्थन गरेको जनाएका छन् ।
उनीहरुले जेन–जी पुस्तासँगै सामाजिक सञ्जाललाई नै पेशा बनाएका युट्युबर, पोडकास्टर, कलाकार, सञ्चारकर्मी लगायतले पनि अलग आन्दोलन छेड्नुपर्ने माग गरिरहेका छन् ।
सरकारले हालै आफ्ना खराब चरित्र लुकाउन विश्वका शक्तिशाली सामाजिक सञ्जाल बन्द गरिदिएको थियो । अहिले नेपालमा आइटी क्षेत्रका व्यक्तिहरू बेरोजगार बन्दै गएका छन् भने कम्प्युटर विषय अध्ययन गर्ने विद्यार्थीहरूको पढाइ रोकिएको छ ।
त्यसैगरी, धरानको भानुचोकमा विहानैदेखि प्रदर्शन भइरहेको छ । धरानमा स्कुल, कलेजहरूले विद्यार्थीलाई जान अनुमति दिएका थिए । उता विराटनगरमा विद्यार्थीहरूको विशाल जुलुस रोक्न प्रहरीले बार लगाएको छ । तर पनि जेन–जी समूह अगाडि बढिरहेको छ ।
चितवनको भरतपुरस्थित चौबीसकोठीमा विहानैदेखि प्रदर्शन भइरहेको छ । कलेजहरूले विहानको कक्षा बन्द गरेर विद्यार्थीलाई जुलुसमा जान अनुमति प्रदान गरेका थिए । सरकारले कम्प्युटर कक्षा बन्द गरेपछि सबै विद्यार्थी सडकमा ओर्लिएका छन् ।
त्यसैगरी, बुटवलमा विहान ९ बजेदेखि नै प्रदर्शन भइरहेको छ । युवा–युवतीहरूको ठूलो समूहले सडक ठप्प पारेका छन् ।
पोखरामा प्रत्येक घर–घरबाट अभिभावकहरूले आफ्ना छोराछोरीलाई जेन–जीको आन्दोलनमा सहभागी हुन सहज बनाइदिएका छन् । अभिभावकहरूले नै आफ्ना छोराछोरीलाई आन्दोलनस्थलसम्म पुर्याइदिएका खबर प्राप्त भएका छन् ।
त्यसैगरी, गण्डकी प्रदेशका बागलुङ, कुश्मा, बेसीशहर, सुदूरपश्चिममा धनगढी, महेन्द्रनगर, कर्णाली प्रदेशमा सुर्खेत, जुम्ला, लुम्बिनीमा दाङ, तौलिहवा, वाग्मतीमा राजधानी काठमाडौँ, हेटौँडा, चितवन, विदुर, मधेश प्रदेशमा वीरगञ्ज, कोशी प्रदेशको झापाका विभिन्न शहर र विराटनगरमा जेन–जी समूहले विशाल प्रदर्शन गरिरहेका छन् ।