विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले कतै पनि रोकतोक नगरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानमा यस्तो स्पष्ट व्यवस्था नभएकाले उनीहरू सक्रिय राजनीतिमा आउन सक्ने बताए ।
उनले भने, “वास्तवमा मलाई थाहा छैन धेरै कुराहरू, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइँदैन भनेको पनि छैन ।” संविधान संशोधनका लागि दुई तिहाई आवश्यक हुने भएकाले त्यस्तो बहुमत जुटेपछि मात्र प्रक्रिया सुरु हुने देउवाको भनाइ थियो । यसका लागि दलहरुसँग छलफल भइरहेको उनले बताए ।
यस क्रममा देउवाले वर्तमान सरकारबाट मन्त्री फिर्ता नबोलाउने स्पष्ट पार्दै मन्त्रीलाई फिर्ता गरेर नयाँ पठाउने विषयमा कुनै छलफल नभएको उल्लेख गरे ।
यता, नेकपा एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हालै पुनः एमाले राजनीतिमा सक्रिय बनेकी छन् । तर, पार्टी नेतृत्वले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने माओवादी केन्द्रको राजनीतिमा सक्रिय भइसकेका छन् ।
तर, एमाले अध्यक्ष खड्गप्रसाद ओली भने भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने रणनीतिमा देखिएका छन् । स्रोतका अनुसार उनले विधान महाधिवेशनमा भण्डारी पक्षधरलाई कित्ताकाट गर्दै मत व्यक्त गर्ने अवसरसमेत नदिएको बताएका छन् ।
पोलिटब्यूरो सदस्य कर्णबहादुर थापालेले फरक मत राख्न खोज्दा समेत १५ मिनेट ठिंग उभ्याएर मात्र फर्काइएको बताइएको छ । एमालेभित्र र बाहिर ओलीको यस शैलीलाई धेरैले निरंकुश चरित्रको रूपमा चित्रण गरिरहेका छन् ।