विराटनगर। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एमाले सदस्यता आधिकारिक रूपमा नवीकरण भइसकेको दाबी गर्दै व्यक्तिको राजनीतिक अधिकार कसैले खोस्न नसक्ने स्पष्ट पारेकी छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपतिको पद केवल आवधिक भएकाले पदावधि समाप्त भएपछि जुनसुकै नागरिक सामाजिक र राजनीतिक जीवनमा फर्किन सक्ने बताइन्। ‘राष्ट्रपति व्यक्ति होइन, पद हो। पद सकिएपछि नागरिकले आफ्नो राजनीतिक अधिकार प्रयोग गर्न पाइन्छ,’ भण्डारीले भनिन्।
एमालेसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै उनले आफू अझै पनि नेकपा (एमाले) की संगठित सदस्य भएको दाबी गरिन्। पार्टी केन्द्रीय कमिटीले आफ्नो सदस्यता खारेज गर्ने निर्णय गरेको समाचारबारे औपचारिक जानकारी नआएको बताउँदै उनले भनिन्, ‘मैले पदावधि सकिएपछि नै सदस्यता नवीकरण गरेकी हुँ। अहिले पनि एमालेकै नीति र सिद्धान्तअनुसार अघि बढिरहेको छु।’
पूर्वराष्ट्रपति भण्डारीलाई विराटनगर विमानस्थलमा एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारी, प्रदेश सरकारका राज्यमन्त्री सृजना राई, नेता विनोद ढकाल, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, पूर्वप्रदेश सांसद यशोदा तिम्सिनालगायतले स्वागत गरेका थिए। उनी उद्घोष दैनिकको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन विराटनगर पुगेकी हुन्।
वाम दलहरूको एकताबारे प्रश्न सोधिँदा उनले मुलुकमा धेरै वामपन्थी दलहरू रहेकाले तत्काल वाम एकताको सम्भावना नरहेको बताइन्। संविधानबारे उठेका प्रश्नमा भने उनले जवाफ संविधानविद्हरूसँग माग्नुपर्ने भन्दै प्रस्ट पारिन्।