काठमाडौँ । नेपाली कांग्रेसले तयार पारेको ‘भातृसंस्थाहरूको महाधिवेशनका लागि निर्देशक समितिहरूको कार्यसम्पादन निर्देशिका’प्रति निर्देशन समितिका पदाधिकारीहरूले चर्को असन्तुष्टि जनाएपछि भ्रातृसंस्थाको महाधिवेशन प्रक्रिया फेरि अन्योलमा परेको छ।
सोमबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग निर्देशन समितिका पदाधिकारीहरूले गरिएको छलफलमा तीव्र असहमति व्यक्त गरेका हुन्।
छलफलको सुरुवातमा महामन्त्री विश्वप्रकाश शर्माले उक्त निर्देशिका पेस गरेका थिए। तर निर्देशन समितिका संयोजकसहित पदाधिकारीहरूले निर्देशिकामा गम्भीर त्रुटि रहेको भन्दै त्यसको विरोध जनाएका थिए।
छलफलमा सहभागी तरुण दलकी संयोजक तथा महामन्त्री महालक्ष्मी उपाध्यायले भनिन्, “निर्देशिकामा व्यापक त्रुटि छ। यही आधारमा महाधिवेशन अघि बढाउने हो भने कुनै पनि भ्रातृसंस्थाको महाधिवेशन हुन सक्दैन। त्यसैले परिमार्जन आवश्यक छ।”
नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल थारू संघ, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल तरुण दल र नेविसंघका निर्देशन समितिका संयोजक तथा पदाधिकारीहरूले पनि आपत्ति जनाउँदै निर्देशिका तत्काल परिमार्जन गर्नुपर्ने माग गरेका थिए।
पार्टीको तर्फबाट परिमार्जनका लागि मंगलबार मध्यान्ह १२ बजेसम्मको समय मागिएको छ। छलफलमा सहभागी केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार महामन्त्रीहरूले परिमार्जनको जिम्मा लिएका छन्।
कांग्रेसको गत असार १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सात भ्रातृसंस्थालाई अन्तिम पटकका लागि म्याद थप्ने निर्णय गर्दै महाधिवेशन गराउन निर्देशन समितिलाई सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको थियो। तर बैठक सम्पन्न भएको एक महिना बित्दासमेत निर्देशन समितिलाई कार्यादेश दिन नसकिएको भन्दै आलोचना सुरु भएको छ।
निर्देशिकामै असहमति भएपछि सोमबारका लागि तय गरिएको पास प्रक्रिया रोकिएको छ भने महाधिवेशन सम्बन्धी सम्पूर्ण प्रक्रिया अनिश्चित बनेको छ। अब मंगलबारको बैठकले नयाँ दिशानिर्देश दिन सक्ने सम्भावना रहेको छ।