काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीस्थित भैरहवा कारागारमा राखिएको कोठाको अवस्था सम्बन्धी विभिन्न समाचारहरू सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन गरेको छ। सोमबार आयोगकी आयुक्त लिली थापाको नेतृत्वमा गएको टोलीले लामिछानेको कोठा तथा कारागारको समग्र अवस्थाबारे अवलोकन गरेको हो।
निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त थापाले लामिछानेलाई पत्रपत्रिका पढ्न नपाउने, झ्याल पूर्णरूपमा बन्द गरिएको, तथा कारागारभित्र सामान्य हावा सर्कुलेशनसमेत नभएको पुष्टि गरिन्। उनले भनिन्, "हावा नजाने कोठामा राखेर हुँदैन। सुरक्षाको कारण देखाउँदै झ्याल बन्द गरिएको रहेछ, तर बन्दीको सुरक्षासहित उसको मौलिक अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व हो।"
उनका अनुसार लामिछानेलाई बाहिर निस्केर हिँडडुल गर्न पनि दिइएको छैन। १०० दिनभन्दा बढी कोठाबाट बाहिर ननिस्कनु भएको भन्ने आयो,” उनले भनिन्।
कारागार प्रमुखले लामिछाने बसेको कोठाको झ्याल खोल्ने आश्वासन दिएको थापाले जानकारी दिइन्। झ्याल प्लाइउडले ढाकिएको छ र कोठाभित्र अट्याच शौचालय भए पनि शौचालयको ढोका छैन। “शौचालयको अवस्था भने सरकारकै कमजोरीको उदाहरण हो,” उनले थपिन्।
अनुगमन टोलीमा सहभागी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की प्रतिनिधि रिमा बिसीका अनुसार कोठामा एसी छैन, केवल दुईवटा पंखा छन्— एउटा ठूला पार्टीहरूमा प्रयोग हुने फलामको स्ट्यान्ड फ्यान र अर्को सामान्य टेबल फ्यान। एसीको बारेमा प्रश्न गर्दा उनले भनिन्, “एउटा प्वाल देखिएको हो, तर हालसालै एसी जडान गरेकोजस्तो लागेन।”
कारागार प्रमुखले भने झ्यालहरू प्लाइउडले ढाकिएको कारण सुरक्षाका लागि भएको बताए। “कोभिडको समयमा आइसोलेसन कक्ष बनाउने क्रममा झ्याल ढाकिएको हो, अब झ्याल खोल्ने गरी व्यवस्था गरिन्छ,” भन्ने उनको भनाइ रहेको बिसीले जानकारी दिइन्।
रवि लामिछानेले अदालतको आदेशअनुसार स्थानान्तरण पाउनु पर्ने भए पनि त्यसअनुसार कार्यान्वयन नभएको विषयमा पनि आयोगले चासो व्यक्त गरेको छ। “बन्दीले स्थानान्तरण माग गरेको भए पनि कारागार व्यवस्थापनले त्यसको पालना नगर्नु गम्भीर विषय हो,” थापाले भनिन्।
पत्रपत्रिकाको पहुँचबारे कुरा गर्दै इन्सेक प्रतिनिधिले भनिन्, “पत्रपत्रिका कारागारले व्यवस्था गरेको छैन, तर माग गरेपछि ल्याइदिन सकिने व्यवस्था छ।”
रूपन्देही कारागारमा जम्मा २५० कैदीको क्षमता भए पनि हाल ७०० जना राखिएका छन्। यद्यपि, रवि लामिछानेलाई भने ४२० स्क्वायर फिटको छुट्टै कोठामा राखिएको छ। कोठामा रेडियो, केही किताब, टेबल, कुर्सी, खाट र कार्पेटको व्यवस्था छ।
मानव अधिकार आयोग र इन्सेकको स्थलगत अनुगमनबाट रवि लामिछानेको कोठामा एसी नभएको, झ्याल बन्द गरिएको, र पत्रपत्रिका नपढ्न पाएकोजस्ता मौलिक अधिकारसम्बन्धी प्रश्नहरू उठेका छन्। आयोगले यी विषयमा कारागार व्यवस्थापन तथा सम्बन्धित मन्त्रालयसँग संवाद गर्ने जनाएको छ।