हेटौंडा। नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेस र नेकपा एमालेबीचको सहकार्यबाट बानियाँले बहुमतको समर्थन जुटाएका हुन्। उनले कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनसहित मुख्यमन्त्री दाबी गरेका थिए। बहुमतका लागि आवश्यक ५६ मतभन्दा बढी समर्थन जुटाएका बानियाँलाई सरकार गठनको आह्वान भएको करिब आधा घण्टामै मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो।
बानियाँ मकवानपुरबाट प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति हुन्। उनी मकवानपुरबाट मुख्यमन्त्री बन्ने दोस्रो व्यक्ति हुन्। यसअघि संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरबाटै थिए। बानियाँ कम्युनिस्टहरूको गढ मानिने मकवानपुरबाट प्रत्यक्ष निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा सफलता पाएका थिए।
बानियाँ यसअघि संघीय सरकारमा गृह राज्यमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री समेत भइसकेका छन्। २०७३ सालमा कांग्रेसबाट राप्रपामा मन्त्रालयको जिम्मेवारी हस्तान्तरण भएपछि उनी गृहराज्यमन्त्री बनेका थिए।
संघीयता कार्यान्वयनपछि २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ त्यसबेलादेखि नै नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेतृत्व गर्न थालेका थिए। अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्ने प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।
यस कार्यकालमा भने साढे दुई वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर नेतृत्व लिएका बानियाँले मुख्यमन्त्री बन्ने बाटो खोलेका थिए। १३ पुस २०७९ मा लामासँग दल नेताको प्रतिस्पर्धामा पराजित भएका बानियाँले ९ साउन २०८२ मा लामाविरुद्ध २१ सांसदको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। १३ साउनमा भएको मत विभाजनमा २२ सांसदको समर्थनपछि लामा पदमुक्त भएका थिए।
१४ साउनमा दल नेताको निर्वाचनमा लामालाई पराजित गरेका बानियाँले त्यसको दुई दिनपछि कांग्रेस–एमाले सहकार्यमा सरकार गठनको दाबी पेस गरेका थिए। गठबन्धन अनुसार उनी आगामी फागुनसम्म मुख्यमन्त्री रहनेछन्, त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति छ।
हाल बागमती प्रदेशसभामा सात दलको प्रतिनिधित्व रहेको छ। नेपाली कांग्रेस (३७), नेकपा एमाले (२७), नेकपा माओवादी केन्द्र (२१), राप्रपा (१३), नेकपा एकीकृत समाजवादी (७), नेमकिपा (३) र हाम्रो नेपाली पार्टी (२) गरी जम्मा ११० सदस्य छन्।
बानियाँको नेतृत्वमा बनेको सरकारले एमाले र कांग्रेसबीचको २०–२० महिनाको सत्ता साझेदारीअनुसार काम गर्नेछ। आगामी फागुनमा सत्ता हस्तान्तरणका लागि तयारी सुरु भइसकेको गठबन्धन स्रोतले जनाएको छ।