काठमाडौँ । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ। बैठकमा संसद्मा विचाराधीन विधेयकहरू र कानुन संशोधनका मुद्दामा विशेष छलफल भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए।
विश्वसनीय स्रोतका अनुसार, बैठक मुख्यतः कानुन संशोधन सम्बन्धी एजेन्डामा केन्द्रित थियो र त्यसैले महान्यायाधिवक्तालाई समेत छलफलमा समावेश गरिएको हो।
‘आजको बैठकको प्राथमिकता विधेयकका विषयमा छलफल गर्नु थियो,’ स्रोतले राष्ट्रिय समाचार डटकमसँग भन्यो, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे भने कुनै कुराकानी भएको छैन, त्यो एजेन्डा नै थिएन।’
बैठकले तत्कालीन सत्ता साझेदारीका जटिल विषयहरूलाई छुन खोजेको छैन भने पनि, कानुनी कार्यसूची अघि बढाउने तयारीमा सरकार गम्भीर देखिएको संकेत दिएको छ।