काठमाडौँ । कुनैबेला भीम रावल कारवाहीमा पर्दा सिंगो एमालेपंक्ति चुपचाप थियो । विन्दा पाण्डे लगायत निलम्बन हुँदै सबै नेता नेतृत्वप्रति नतमस्तक थिए ।
तर, अहिले विस्तारै एमाले भित्र अध्यक्ष केपी ओली विरुद्ध आवाज चर्कंदै गएको छ ।
तेस्रो कार्यकालका लागि पनि चुनिने ‘चाहना’ र पुनः सक्रिय राजनीतिमा फर्केर एमालेको नेतृत्व सम्हाल्ने पूर्वराष्ट्रपति विद्या भण्डारीको ‘महत्वाकांक्षा’ले दुई पक्षबिच वाक्–युद्ध सुरु भएको छ । दुवै पक्षले एक–अर्काको कार्यशैली र नियतमाथि प्रश्न उठाउँदा तथा नेतृत्वको उमेरहदका विषयमा मतभेद देखिँदा पार्टीभित्र ध्रुवीकरण बढ्दै गएको छ । भण्डारी चीन भ्रमणबाट फर्केपछि ओलीसँग वाक्–युद्ध चर्किँदा समर्थक पनि जोडिन थालेका छन् ।
नयाँ पत्रिका लेख्छ–ओली र विद्याबिचको शक्तिसंघर्ष एमालेको आगामी भदौमा हुने भनिएको विधान र ०८२ को अन्त्यसम्म गर्ने लक्ष्य राखिएको नियमित महाधिवेशनमा देखिने उनीहरूनिकट नेता–कार्यकर्ता बताउँछन् । एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको भनिएको वेला सुमधुर सम्बन्ध रहेको मानिएका ओली र विद्याबिचको मतभेदले एमालेको आन्तरिक एकतालाई चुनौती मात्र दिएको छैन, आगामी राजनीतिक परिदृश्य तनावपूर्ण बनाउने जनाउ पनि गरेको छ । झापामा विद्या एमालेकै ब्यानरको कार्यक्रममा सहभागी भएपछि ओली झस्किएका छन् ।
विद्याको सक्रियता, भेटघाट र उनका केही समययताका अभिव्यक्ति पूर्वराष्ट्रपतिको हैसियतमा सीमित नभई एक सक्रिय र नेतृत्वदायी भूमिकामा रहेको राजनीतिज्ञका जस्ता देखिन–सुनिन थालेका छन् । एमालेमा ओलीप्रतिको आक्रोश र असन्तुष्टि विद्यातिर केन्द्रित हुँदै छ । र, यसलाई रोक्न ओलीले एमालेको विधानदेखि परम्परासम्मका उदाहरण दिएर कारबाही हुन सक्ने चेतावनी दिएका छन् । तर, यस्ता चेतावनीबाट विद्या समूह भयभीत छैन, बरु थप संगठित हुने प्रयासमा जुटेको छ ।
एमालेले राष्ट्रिय महाधिवेशनअघि आगामी २० देखि २२ भदौमा काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यस महाधिवेशनले पार्टीको संगठनात्मक संरचना, उमेरहदसँगै कार्यदिशा टुंगो लगाएपछि सकभर ०८२ भित्रै नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा एमाले छ । यही सिलसिलामा ओली–विद्याबिच वाक्–युद्धको पारो माथिमाथि चढ्दै छ ।
तर, विधान महाधिवेशनमै भावी नेतृत्वको पनि तस्बिर देखिने भएकाले अध्यक्ष ओलीसहित शीर्ष नेताहरू आगामी नेतृत्वलाई लिएर ध्रुवीकृत हुन थालेका छन् । खास गरेर एमालेभित्र उमेरहदको पक्ष–विपक्षमा बहस बढ्दै गएको छ । उमेरहदका विषयमा अध्यक्ष ओलीले नै विपक्षमा अभिव्यक्ति दिएपछि ‘काउन्टर’मा दोस्रो नेता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उभिएका छन् । यसले तलैसम्म एमालेपंक्तिलाई तरंगित गराएको छ र ११औँ महाधिवेशनलक्षित धु्रवीकरणमा मलजल गरेको छ ।
विधान महाधिवेशन नजिकिएसँगै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय रहेको सन्देश दिएलगत्तै अध्यक्ष ओलीले अध्यक्षको आकांक्षाबाट ‘ब्याक’ हट्न सन्देश मात्रै दिएनन्, अबको महाधिवेशनमा उमेरहद खुला हुने बताएर आफैँ नेतृत्वमा आउने चाहना प्रकट गरे । ओलीको त्यस्तो सन्देशलाई पूर्वराष्ट्रपति भण्डारीले मंगलबार सार्वजनिक रूपमै जवाफ दिएकी छिन् ।
तीन दिनअगाडि अर्थात् २५ जेठमा कीर्तिपुरमा अनेरास्ववियुको महधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नाम नलिए पनि बुझिने अर्थमा भण्डारीले नेतृत्व लिन खोजेको र उनकै नाममा गुट बन्न खोजेको संकेत गरेका थिए ।
त्यति मात्र होइन, ओलीले आफू ७० नै कटे पनि अध्यक्ष रहेकाले उमेरहद फेल खाइसकेको भन्दै नेतृत्व तत्कालीन आवश्यकताले चुनिने बताएका थिए । उनले आफैँ नेतृत्वका लागि अग्रसर हुने संकेत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ र साइप्रसको कम्युनिस्ट पार्टीदेखि विगतमा एमालेभित्रै नेतृत्वको सवालका गरिएका प्रयोगका उदाहरण दिएका थिए ।
ओलीको त्यस्तो अभिव्यक्तिको वरिष्ठ उपाध्यक्ष पोखरेलले एक टेलिभिजन अन्तर्वार्तामार्फत ‘काउन्टर’ गरेका छन् । उनले महाधिवेशनभन्दा शक्तिशाली अरू कोही पनि हुन नसक्ने भन्दै आफू उमेरहदको पक्षमा रहेको र ओलीले पनि बिदा लिनुपर्ने आशयको धारणासमेत राखेका छन् ।
एमालेभित्र ओलीसहित शीर्ष नेताहरूको विभाजित अभिव्यक्ति आएसँगै एमालेभित्र नयाँ ध्रुवीकरण भइरहेको विश्लेषण हुन थालेको छ ।
१९ जेठ ०८० मा बसेको सचिवालय बैठकले नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउन ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गर्ने निर्णय गरेको थियो । यस विषयमा विधान महाधिवेशनले निर्णय गर्ने भए पनि पार्टीले संगठनात्मक संरचना र उमेरहदबारे कस्तो प्रस्ताव लैजाने विषयमा कमिटी बनाएर कामै सुरु गरेको छैन । जबकि एमालेमा आगामी २० देखि २२ भदौमा पार्टीको विधान महाधिवेशन गर्ने निर्णय भइसकेको छ ।
एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि ७० वर्षे उमेरहदको पक्षमा देखिएका छन् । उनका अनुसार एक विशिष्ट अवस्थामा ७० वर्षको उमेरहद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था एमालेमा कायमै छ । र, आगामी नेतृत्वबारे बहस गर्ने वेला अझै भइनसकेको उनको दाबी छ ।
पूर्वराष्ट्रपति भण्डारीको सक्रियतासँगै एमालेका नेता–कार्यकर्ता सामाजिक सञ्जालमै पक्ष–विपक्षमा बहस गर्न थालेका छन् ।
पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्षको आकांक्षा नपाल्न सचेत गराउँदै अन्यथा इतिहासले गिज्याउन सक्छ भनेर टिप्पणी गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा खुलेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले बस्नेतलाई नै लक्षित गरेर शक्तिको पक्षमा भक्तिभाव देखाउँदै जथाभावी टिप्पणी नगर्न सचेत गराएका छन् ।
अर्का नेता गोकुल बाँस्कोटाले पनि ओलीनिकट विष्णु रिमाल, बस्नेतलगायतलाई लक्षित गर्दै वेलावेला सामाजिक सञ्जालमा कूटनीतिक सन्देशसहित विरोधमा टिप्पणी गर्दै आएका छन् ।