काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै अब पार्टीमा नेतृत्वको कार्यभार परिवर्तन हुने निश्चितजस्तै देखिएको छ। अदालतबाट मुद्दाको टुंगो नलागेसम्म नेपाल सार्वजनिक पदमा रहन नपाउने अवस्थाले पार्टीमा कार्यवाहक अध्यक्ष तोक्नुपर्ने बाध्यता आएको हो।
प्रचलित ऐन, नियम तथा राजनीतिक नैतिकताका आधारमा अदालतले मुद्दाको टुंगो नलाग्दासम्म नेपाल सार्वजनिक पदमा रहन योग्य हुने छैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई १६ वर्षअघि हदबन्दी छुटमा जग्गा दिएको र सोही जग्गा दुई महिनामै पुनः बिक्री गर्न मिल्ने निर्णय गरेर अनियमितता गरेको आरोपमा जेठ २२ गते विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यस घटनाले पार्टीको राजनीतिक साख मात्र नभई संगठनात्मक गतिशीलतामाथि समेत गम्भीर असर पारेको पार्टी नेताहरूको ठम्याइ छ। त्यसैले अब पार्टीले नियमित कार्य सञ्चालनका लागि कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता दुबै चयन गर्नुपर्ने अवस्था आएको छ।
एकीकृत समाजवादीको २१ सदस्यीय पदाधिकारी समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभामा १७ जना सांसद रहेको संसदीय दलभित्रैबाट नयाँ नेतृत्व चयन गरिनेछ।
पार्टी स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे कार्यवाहक अध्यक्ष तथा संसदीय दलको नेताको रूपमा अगाडि देखिएका छन्।
सांसदीय राजनीतिमा लामो अनुभव भएका पाण्डे पूर्वमन्त्री, मुख्यमन्त्री भइसकेका छन्। माधव नेपालका निकट सहयोगीका रूपमा परिचित पाण्डेलाई अघिल्ला अवसरहरूमा पनि नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदै आएका थिए।
६९ वर्षीय पाण्डे २०४८ सालदेखि सक्रिय राजनीतिमा छन्। उनी २०४८, २०५१, २०५६, २०७० र २०७९ सालमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ सालमा उनी बागमती प्रदेशका पहिलो मुख्यमन्त्री बनेका थिए।
पार्टीभित्र विवादरहित नेताका रूपमा चिनिने पाण्डेले एमालेमा रहँदा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीका निर्णयहरूलाई खुला रूपमा विरोध गर्दै आएका थिए।
पार्टीले चाँडै औपचारिक निर्णय गर्दै कार्यवाहक नेतृत्व सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।