काठमाडौँ । सरकारले राजसंस्था पक्षधर पार्टी र राजावादी समुहका सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
संविधानका विरुद्धमा सधैं यस्ता क्रियाकलाप भइरहने हो भने सरकारले टुलुटुलु हेरेर नबस्ने मन्त्री गुरुङले बताए ।
‘सधैं संविधान विरोधी क्रियाकलाप गरिरहने हो भने सहन सकिँदैन । सरकार सधैं टुलुटुलु हेरेर बस्दैन । तर, अहिले हामी गतिविधि कस्तो हुनेछ भन्ने आधारमा त्यसको प्रतिक्रिया हुन्छ,’ उनले भने ।
संविधानमा प्रतिबन्ध लगाउन सक्ने छुट भएपनि अहिले त्यो नगरेको उनले बताए । ‘आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौं । त्यो गर्ने छुट पनि छ,’ उनले चेतावनी दिंदै भने ।
उनले राजावादीहरूको गतिविधिबाट सरकार नडराएको भन्दै उनले उदारतापूर्वक विरोध गर्नेलाई पनि अधिकारी छुट दिएकाले मात्रै त्यसको अभ्यास गरेको बताए ।
गणतन्त्र विरुद्ध बोल्ने र संविधान विपरीतका गतिविधि गर्नेलाई जुनसूकैबेला जहाँतहीँ नियन्त्रण गर्ने अधिकार सरकारलाई रहेको स्पष्ट पारे ।
सरकारले राजतन्त्र पक्षधरलाई प्रतिबन्ध लगायो भने राप्रपा र राप्रपा नेपालका सम्पूर्ण गतिविधि बन्द हुनेछन् । नेताहरुलाई राजनीति विषयमा बोल्न रोक हुनेछ । अटेर गरि बोलेमा, लेखेमा वा सडकमा निस्केमा सरकारले सोझै पक्राउगरि जेल चलान गर्नेछ ।
हाल नेपालमा राप्रपा, राप्रपा नेपाल र केही हिन्दुवादी समुहले राजतन्त्र पुनःस्थापनाको माग राखेका छन् ।
आजैदेखि नेपाल प्रहरीले पनि धार्मिक सद्भाव भड्काउने, संविधान विरुद्ध गतिविधि गर्ने र आतंक फैलाउनेलाई निगरानी गर्न थालेको छ ।
यही जेठ १५ गतेदेखि राजतन्त्र पक्षधर पार्टी र राजावादी समुह मिलेर गणतन्त्र विरुद्ध प्रदर्शन गर्दैछन् ।
गत चैत १५ गते राजतन्त्र पक्षधरको आन्दोलन अराजक क्रियाकलापमा रुपान्तरण हुँदा दुई जनाको ज्यान गएको थियो । करीब आधा अर्ब बढीको सरकारी र नीजि सम्पतिको नोक्सान भएको थियो । राजतन्त्र पक्षधरहरु आगजनी, कुटपिट र लुटपाटमा उत्रेका थिए ।