काठमाडौँ । बुधबार दिनभर सामाजिक सञ्जालमा एक अफवाह तीव्र रूपमा फैलियो—पूर्वराजा ज्ञानेन्द्र शाहसँग काठमाडौँ महानगरका मेयर बालेन साहले भेट गरेका छन् भन्ने । यो गलत खबर सुरुमा पोर्चुगलमा बसेर राजसंस्था समर्थक गतिविधिमा संलग्न रमेशराज बास्तोलाले फैलाएका थिए ।
बास्तोलाले पोस्ट गरेको गलत सन्देश अन्य राजतन्त्र समर्थकहरूले पनि कपी गरेर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलाए । तर बालेन र ज्ञानेन्द्रबीच भेट भएको समाचार पूर्ण रूपमा असत्य हो । ज्ञानेन्द्र शाह र बालेन शाह दुबै पक्षका सचिवालयहरूले उक्त खबरलाई स्पष्ट रूपमा खण्डन गरिसकेका छन् ।
उक्त रमेशराज बास्तोला तिनै व्यक्ति हुन् जसले पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक पदमा रहँदा पूर्वराजाको प्रचारका लागि सरकारी लेटरहेडको दुरुपयोग गरेपछि पदमुक्त भएका थिए ।
बुधबारकै दिन राजसंस्था समर्थकहरूले अन्य केही झूटा समाचार पनि फैलाए, जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रप्रति लचकता देखाएको अभिव्यक्ति दिएका छन् भन्ने समावेश थियो ।
हाल राजसंस्था पुनःस्थापनाको माग गर्दै जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरिएका राजतन्त्र समर्थकहरू आन्दोलनको वातावरण तताउन विभिन्न भ्रमपूर्ण र गलत सन्देशहरू फैलाइरहेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहबाट सबैभन्दा बढी प्रताडित व्यक्ति नेपालमा कोही छन् भने ती शेरबहादुर देउवा नै हुन् । देउवाले गणतन्त्र बाहेक अन्य व्यवस्था स्वीकार गर्न नसक्ने कुरा उनको सचिवालयले प्रस्ट पारिसकेको छ । देउवा निकट नेता मीन विश्वकर्माले राजतन्त्र पक्षधरहरूले फैलाएको हल्ला पूर्ण रूपमा गलत रहेको सार्वजनिक रूपमा बताइसकेका छन् ।
वर्तमान सरकार तथा नेताहरूका कमजोरीहरूलाई आधार बनाई केही धार्मिक संघ–संस्थाहरू गणतन्त्रविरुद्ध अनर्गल प्रचारमा सक्रिय देखिएका छन् । मधेसदेखि काठमाडौँ उपत्यकासम्मका केही संस्थाहरू हिन्दु राष्ट्रको नारा र राजसंस्था पुनःस्थापनाको माग गर्दै संविधानविपरीतका प्रचार–प्रसार गरिरहेका छन् ।
यी तत्वहरूले सामाजिक सद्भाव भड्काउने र सामान्य नागरिकलाई गणतन्त्रविरोधी गतिविधिमा प्रयोग गर्ने अनेक योजना बनाइरहेका छन् । यस्तै गरी ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई पनि आन्दोलनमा तान्ने प्रयास गर्दै अनेक दुष्प्रचार फैलाइएको छ । जबकि हृदयन्द्र न राजनीतिमा छन्, न त राजतन्त्र फर्काउने कुनै इच्छा राख्छन् । यस प्रकारको प्रचारले ज्ञानेन्द्रको परिवारलाई हैरानीमा पारेको छ ।
यसअघि चैत १५ गतेको आन्दोलनमा पनि ज्ञानेन्द्र शाहको नाम दुरुपयोग गरेर हिंसा मच्चाइएको थियो । उक्त आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने सरकारी तथा सर्वसाधारणको सम्पत्तिमा आगजनी, तोडफोड, सामान्य नागरिकमाथि हमला र सुरक्षाकर्मीमाथि आक्रमण भएका थिए ।
त्यो आन्दोलनको कमाण्डर भनेर विवादास्पद व्यक्ति दुर्गा प्रसाईंलाई प्रचार गरिएको थियो । उक्त खबर केही नेपाली मिडियाले पनि पुष्टि नगरी समाचारमा प्रकाशित गरेका थिए । तर, ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंबीच कुनै भेट नभएको प्रमाणित भइसकेको छ । अहिले थुनामा रहेका प्रसाईंले पनि त्यो भेट पुष्टि गर्न सकेका छैनन् ।
तीनकुनेमा भएको हिंसात्मक घटनापछि ज्ञानेन्द्र शाहको सचिवालयले प्रसाईंलाई कुनै भूमिका दिइएको थिएन भन्ने स्पष्ट सूचना सार्वजनिक गरेको थियो ।
हाल फेरि केही राजसंस्था समर्थकहरूले चैत १५ गतेझैँ हिंसा निम्त्याउने नियतसाथ अफवाह फैलाउन थालेका छन् ।
राप्रपा र राप्रपा नेपालले पनि जेठ १५ गते उस्तै खाले आन्दोलन गर्ने तयारी थालेको छ । यी दुबै पार्टीले आन्दोलन हिंसात्मक नहुने बताएपनि सरकारले भने शंकाको घेरामा राखिसकेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल प्रहरीले यस्ता तत्वहरूको गतिविधिमा बिहीबारदेखि निगरानी र नियन्त्रण सुरु गर्ने जनाएको छ ।
“गलत सूचना फैलिरहेका छन्, हिंसा भड्काउने नियत देखिन्छ, त्यसैले यस्ता गतिविधिमा संलग्नहरूमाथि निगरानी गरिँदैछ र आवश्यक परे नियन्त्रणमा लिने योजना बनाइएको छ,” प्रहरी उच्च स्रोतले भन्यो ।