लन्डन । इन्डियन महिलाहरुले भोग्दै आएको पीडा लेख्ने लेखिका, वकिल तथा सामाजिक अभियन्ता बानु मुस्ताकले आफ्नो लघु कथासंग्रह ‘हार्ट ल्याम्प’का लागि इन्टरनेसनल बुकर पुरस्कार जितेकी छन् । योसँगै उनी बुकर पुरस्कार जित्ने कन्नड भाषाकी पहिलो साहित्यकार बनेकी हुन् ।
उनको कृति ‘हार्ट ल्याम्प’ प्रतिष्ठित बुकर पुरस्कार जित्ने पहिलो लघु कथासंग्रह समेत हो । निर्णायकहरूले ‘कथासंग्रहका पात्रहरूमार्फत बाँच्नका लागि गरेको संघर्ष र दृढताका अद्भुत चित्र’ प्रस्तुत गरेकी भन्दै उनको प्रशंसा गरे ।
‘हार्ट ल्याम्प’मा मुस्ताकले सन् १९९० देखि २०२३ सम्म लेखेका १२ वटा कथा समेटिएका छन् । कथासंग्रहमा धर्मका कारण इन्डियन महिलाहरुले भोग्नुपरेको पीडा, उत्तरदेखि दक्षिण इन्डियन महिलाले भोग्नुपरेका कठिनाइलाई गहिरो रूपमा उजागर गरिएको छ ।
यो पुस्तकमा दक्षिण इन्डियन मुस्लिम महिलाका समस्या पनि उतिनै गहिरोसँग उतारिएको छ ।
कथासंग्रहमा समावेश कन्नड भाषाका कथा दीपा भास्थीले अंग्रेजीमा अनुवाद गरेकी हुन् । बुकर इन्टरनेसनल पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ जुन लेखक र अनुवादकबीचमा बराबरी बाँडिन्छ । कन्नड इन्डियन राज्य कर्नाटकमा बोलिने भाषा हो ।
पुरस्कार जितेलगत्तैको भाषणमा मुस्ताकले शब्दहरूलाई आफ्नो मनमा स्थान दिएर स्वागत गरेको भन्दै पाठकहरूलाई धन्यवाद दिएकी छन् ।
‘यो पुस्तक कुनै पनि कथा सानो हुँदैन र मानवीय अनुभवको कपडामा हरेक धागोले समग्र भार बोक्छ भन्ने विश्वासबाट जन्मिएको हो,’ उनले भनिन्, ‘आजको विभाजनमुखी दुनियाँमा साहित्य अन्तिम केही पवित्र स्थानमध्ये एक हो, जहाँ हामी केही पानाका लागि भए पनि एकअर्काको मनभित्र बाँच्न सक्छौं ।’
इन्टरनेशनल बुकर जित्ने पहिलो इन्डियन अनुवादक बन्न सफल भएकी भास्थीले ‘हार्ट ल्याम्प’को जितले कन्नड तथा अन्य दक्षिण एशियाली भाषाहरूमा अनुवादका लागि प्रोत्साहन दिने विश्वास व्यक्त गरिन् ।
यसअघि सन् २०२२ मा भारतीय लेखिका गीताञ्जली श्रीको ‘टम्ब अफ स्याण्ड’ इन्टरनेसनल बुकर पुरस्कार जितेको थियो । उक्त पुस्तक डेजी रोकवेलले हिन्दीबाट अनुवाद गरेकी थिइन् ।
इन्डियामा त्यहाँका छोरीहरु, युवतीहरु र महिलाहरुले भोग्ने पीडा इन्डियन लेखकले नै तेस्रो मुलुकमा ढुक्कसँग बसेर लेख्दै आएका छन् ।
धर्मका कारण अनेकौँ बन्धनले इन्डियामा करोडौँ महिला असुरक्षा महसुस गर्छन् । इन्डियामा धर्मको आडमा पुरुषको हुकुम मात्र बलियो छ । पछिल्ला वर्षमा क्षमतावान परिवारका छोरीहरु सुरक्षा र स्वतन्त्रता खोज्दै तेस्रो मुलुक बसाईं सरिरहेका छन् ।
एजेन्सी