काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संविधान विरुद्ध गतिविधि गर्ने जोकोहीलाई गंभिरतापूवर्क लिई कानुनी कारवाहीमा ल्याउन निर्देशन दिएका छन् ।
आईजीपी थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्व दिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।
आज आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिंदै कानुन उल्लंघन गर्ने सबै कारवाहीका भागिदार हुने बताए ।
हालैका दिनहरुमा राजतन्त्र पक्षधरहरुले आन्दोलन गर्ने भनिएका सूचनाका आधारमा त्यसतर्फ संकेत गर्दै थापाले उच्च सतर्कता अपनाउन उनको जोड थियो ।
आईजीपी थापाले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने बताए ।
प्रहरीले पछिल्लो पटक नेपालमा भइरहेको धर्मको आवरणमा व्यवस्था विरुद्ध हर्कत, नेता, कलाकारप्रति लाञ्छित घृणाजन्य कार्यहरु कानुन विपरीत भएको निष्कर्ष निकाल्दै अनुगमन र अनुसन्धानलाई तिव्रता दिएको छ ।
संविधान विरुद्धको सबै प्रकारका गतिविधि हरहालतमा क्षम्य नहुने भएकोले त्यस्ता तत्वलाई कानुनी उपचार गर्न चट्टानीपूर्वक काम–कर्तव्य हुनुपर्ने मातहतका प्रहरीलाई आइजीपी थापाको निर्देशन रहेको थियो ।