काठमाडौँ। नेपाल प्रहरीले जनमुखी सेवालाई प्राथमिकतामा राख्दै नागरिकका समस्यासँग प्रत्यक्ष घुलमिल हुने कार्यलाई तीव्र बनाएको छ।
नयाँ नेतृत्व आएपछि प्रहरी संगठनभित्र कार्य मूल्यांकन, जवानहरूमा उत्प्रेरणा वृद्धि गर्ने र जनकेन्द्रित सेवा प्रवाहमा जोड दिने विभिन्न कार्यक्रम सञ्चालनमा आएका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले नागरिकको हक–हित संरक्षण र पूर्ण सुरक्षाको प्रत्याभूति दिन मातहतका निकायहरूलाई निर्देशन दिएका छन्। नेतृत्व सम्हालेयता थापा स्वयं फिल्डमा खटिएर नागरिकका समस्या प्रत्यक्ष सुन्ने कार्यमा सक्रिय छन्।
यसै सन्दर्भमा आईजीपी थापा हालै धनकुटा लगायतका जिल्लाहरूमा पुगेर मातहत प्रहरी निकायका गुनासा, सुझाव तथा नागरिक सरोकारका विषयमा चासो व्यक्त गरेका थिए।
नेपाल प्रहरीले पछिल्लो समय सामाजिक सद्भाव भड्काउने, राजनीतिक आवरणमा हुने धार्मिक अतिवाद फैलाउने, र समुदायमा विखण्डन ल्याउने समूह तथा व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
पछिल्ला दिनहरूमा भारतबाट भित्रिएका विभिन्न अतिवादी धार्मिक समूह र संस्थासँग आवद्ध व्यक्तिहरूको निगरानी तथा कानुनी कारबाहीलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले स्पष्ट पारेको छ।
प्रहरी संगठनभित्र निष्पक्ष मूल्यांकन प्रणालीलाई सुधार गर्दै आईजीपी थापाले मातहत प्रहरीहरूलाई आत्मविश्वासका साथ कार्य गर्न निर्देशन दिएका छन्।
अपराध अनुसन्धान ब्यूरोलाई स्वायत्त रूपमा कार्य गर्न सहज वातावरण प्रदान गरिएको प्रहरी स्रोतले जनाएको छ। जसका कारण धेरै मुद्दाहरूको अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ।
शान्ति–सुरक्षा, अमनचयन, नागरिक स्वतन्त्रता, मौलिक हक तथा सामाजिक सद्भाव कायम राख्न नेपाल प्रहरी देशभर सक्रिय रूपमा खटिएको छ।
दिनहुँको कार्य, प्रगति तथा विभिन्न विवरणहरूलाई सामाजिक सञ्जाल (फेसबुक) पृष्ठमार्फत सार्वजनिक गर्ने प्रणाली सुरू गरेर नेपाल प्रहरीले आफ्नो कार्यपद्धतिलाई पारदर्शी ढंगले अगाडि बढाइरहेको छ।