काठमाडौँ । हामीले आग्रह गर्यौँ, अन्ततः इन्डिया र पाकिस्तानको युद्ध रोकियो : ओली।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेर यसो भनिरहँदा सायद कुनै नेपालीले पत्याए होलान् !
संजालदेखि देशभरका कुनाकुनामा ओलीकै खिस्सीट्युरी मात्र फैलिरह्यो। हुन सक्छ, ओलीले त्यो भूमिका निर्वाह गरे, एउटा मित्र राष्ट्रका नाताले युद्ध रोक्ने पहल पनि भयो होला। तर, किन आज ओलीप्रति जनतामा यति अविश्वास पैदा भएको छ? यो प्रश्न कयौं वर्ष जीवित रहनेछ।
नेपाल कति गैरजिम्मेवार? अब यता हेरौँ। किनभने पछिल्लो एक दशकमा ओलीज्यू, तपाईं नै धेरै प्रधानमन्त्रीमा बस्नु भएको छ। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्घ (सार्क) एक दशकअगाडि सम्म पनि क्षेत्रीय समन्वय र विकासको आशा बोकेको संस्थाका रूपमा हेरिन्थ्यो।
सन १९८५ मा स्थापना गरिएको यस सङ्घले आठ दक्षिण एशियाली मुलुकहरूलाई एउटै मञ्चमा ल्याएर आर्थिक, सामाजिक र प्राविधिक साझेदारी बढाउने लक्ष्य राखेको थियो।
यस क्षेत्रमा हुने युद्ध, आतंक र अराजकता अन्त्य गर्नु नै यो संगठनको मूल उद्देश्य हो। तर दुःखद यथार्थ के हो भने आज सार्क आफ्नै उद्देश्य बिर्सिएर अस्तित्वको संकटमा फसेको छ।
यसको कारण केही होइन — नेपालको अकर्मण्यता हो। नेपालको भन्नुको अर्थ ओलीज्यू, तपाईं र तपाईंको पार्टी हो। किनभने पछिल्लो एक दशक अवधिलाई नै केलाएर आफैँ हेर्नुस्।
अझ केलाएर हेर्ने हो भने, काठमाडौँमा रहेको सचिवालय निदाएकोजस्तै देखिन्छ। किनभने पछिल्लो एक दशकमा सार्क शिखर सम्मेलनहरू स्थगित हुँदै आएका छन्।
सन २०१६ मा इस्लामाबादमा आयोजना गर्न लागिएको शिखर सम्मेलन इन्डिया–पाकिस्तान तनावका कारण अन्तिम समयमा स्थगित भएपछि आजसम्म अर्को सम्मेलन हुन सकेको छैन।
यसले देखाउँछ कि सार्कले सदस्य राष्ट्रबीचको राजनीतिक द्वन्द्व सुल्झाउन कुनै प्रभावशाली माध्यमको विकास गर्न सकेको छैन।
नेपाल नेतृत्व गर्नेमा असफल सिद्ध भयो।
इन्डिया र पाकिस्तानबीचको तनाव मात्र होइन, सदस्य राष्ट्रहरूको आपसी असहयोग, राष्ट्रिय स्वार्थको प्राथमिकता, र वैकल्पिक क्षेत्रीय संगठनतर्फको आकर्षणले पनि सार्कलाई कमजोर बनाइरहेको छ।
इन्डियाले बिमस्टेकमा ध्यान केन्द्रित गरिरहेको छ भने पाकिस्तान चीनसँगको द्विपक्षीय सम्बन्धमा व्यस्त देखिन्छ। यसले सार्कलाई अझै छायाँमा पारेको छ।
इन्डियाको स्वार्थमा नेपाल भुलिरहेको छ। नेपालले आफ्नो सार्वभौम अस्तित्व बिर्सँदै गएको अवस्था छ। एउटा परराष्ट्र मन्त्री आधा महिना दिल्लीको ढोकामा ‘हाम्रो प्रधानमन्त्री बोलाइदिनुहोस्’ भन्दै ढुकेकी हुन्छिन्।
के नेपालको प्रधानमन्त्री इन्डिया नगए नेपाल देश विलीन हुन्छ? कुरो के हो ओलीज्यू?
ओलीज्यू, तपाईं प्रधानमन्त्री भएपछि सार्क अध्यक्ष राष्ट्रको हैसियतमा कुनै भूमिका खेल्न सक्नुभएन।
यसबीचमा, सार्कको आवश्यकता झन् बढेको छ — जलवायु परिवर्तन, आपूर्ति श्रृंखला व्यवधान, बेरोजगारी, स्वास्थ्य संकट।
यी सबै क्षेत्रीय साझा समस्याहरू हुन्, जसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ। सार्क यदि सक्रिय हुन्थ्यो भने, यी समस्याहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्थ्यो।
नेपालका लागि यो एउटा अवसर पनि हो। तर त्यो अवसर गुमाउनुभयो ओलीज्यू। काठमाडौँमा सार्क सचिवालय रहेको नाताले नेपालले निष्क्रिय सचिवालयलाई पुनः चलायमान बनाउन कूटनीतिक पहल किन गर्दैन? कि नेपाल इन्डियाको गुलामी मात्र गर्छ?
क्षेत्रीय संवाद र शिखर सम्मेलन पुनः सुरु गर्ने सन्देश नेपालले नै अगुवाइ गर्न कसले रोकेको छ? रोकेको छ भने भन्नुपर्दैन ओली कमरेड?
इन्डिया र पाकिस्तानबीचको तनावले सार्कलाई निष्क्रिय बनाएको आरोप लाग्दै गर्दा नेपालले यसलाई सक्रिय बनाउन किन भूमिका खेलेन?
सदस्य राष्ट्रहरूको आन्तरिक समस्या र सहकार्यको कमी रहेको सबैले देखेकै छन्। पछिल्ला वर्षहरूमा सार्क सम्मेलनहरू रोकिएका छन्।
विशेषगरी सन् २०१६ पछि इन्डियामा मोदी हावी भएपछि नेपाल उनै मोदीको लहलहैमा किन कुदिरहेको छ?
सार्कमा आठ मुलुक मात्र छैनन्, पर्यवेक्षक राष्ट्रहरूका रूपमा चीन, युरोपेली संघ, जापान, इरान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया र म्यानमारसमेत छन्।
ओलीज्यू, के तपाईंले अहिले चलिरहेको इन्डिया र पाकिस्तान युद्ध रोक्न यी पर्यवेक्षक राष्ट्रसँग कुनै समन्वय गर्नुभयो? अहँ, त्यो संकेत पनि कतै देखिएको छैन।
नेपालले बुझ्नुपर्ने र तपाईं शासकले जान्नुपर्ने के हो भने ओलीज्यू, सार्कको भविष्य त्यसका सदस्य राष्ट्रहरूको इच्छाशक्तिमा निर्भर छ।
यदि दक्षिण एशियाली नेताहरूले साँच्चै क्षेत्रीय समृद्धि र सहकार्य चाहन्छन् भने, उनीहरूले द्वन्द्वभन्दा माथि उठ्नुपर्छ र सार्कलाई पुनः जीवन्त बनाउन साझा संकल्प गर्नुपर्छ। नत्र, सार्क एउटा कागजी संस्था बनिरहनेछ, जसको कार्यालय त काठमाडौँमा रहला, तर प्रभाव शून्य हुनेछ।
तपाईंलाई ठूलो अवसर थियो, इन्डिया र पाकिस्तान युद्ध रोक्नका लागि। तर, तपाईंले कुनै दिन, कुनै घडी समन्वयात्मक भूमिका खेल्नुभयो? परराष्ट्र मन्त्रालय र तपाईंको विज्ञप्तिमा त इन्डियाको साखुल्य हुने शब्दबाहेक के छ? एकपटक आफैँ रुजु गर्नुहोस् ओलीज्यू।
दुई मुलुकबीचको तनाव कम गर्न तटस्थ भूमिका खेल्न सक्नुपर्थ्यो।
कश्मीर घटना न त पाकिस्तान सरकारले गराएको हो, न इन्डिया सरकारले। त्यो त कुनै आतंकवादी संगठनले गरेको कुकार्य थियो।
तर नेपालले इन्डियालाई पक्षपोषण हुने गरी विज्ञप्ति किन जारी गर्यो?
आज सर्वत्र यही प्रश्न उठिरहेको छ। अहिले पनि नेपालमा इन्डियन सेनाको ठूलो फौज अड्डा जमाएर बसेको छ। कालापानीमा रहेको त्यो इन्डियन क्याम्प हटाउन किन इन्डियासँग कुरा गर्नु हुँदैन ओलीज्यू?
कागजमा चुच्चे नक्सा राखेर त्यसको ब्याजले बाँकी जीवनभर राजनीतिको स्वास चलाइरहनु भयो त? हैन भने सार्वभौम मुलुकको शासकका नाताले किन इन्डियासँग संवाद गर्न डराउनुहुन्छ?
जब आफ्नै मुलुकमा इन्डियन सेनाको यो दादागिरी हटाउन सक्नुभएको छैन, अनि इन्डिया–पाकिस्तान युद्ध रोकेको तपाईंको अभिव्यक्ति मानिसले त के, अहिलेका लामखुट्टेले पनि कसरी पत्याउला ओलीज्यू?
अतः कुरा धेरै गर्यो भने गल्ती पनि धेरै हुन्छ। कुरा कम भयो भने गल्ती कम हुन्छ। काम धेरै भयो भने गल्ती झन् कम हुन्छ। काम कम, कुरा ज्यादा भयो भने पूरै गल्ती हुन्छ। तपाईंले पूरै गल्ती गरिसक्नुभएको छ ओलीज्यू।
अब हजार प्रयास गरे पनि तपाईंप्रति जनतामा छाएको घृणा र अविश्वास फर्कन मुस्किल पर्छ।
यो घृणाको सुरुवात अध्याय कुलमान घिसिङमाथि तपाईंले राखेको प्रतिशोध भएको जनताले महसुस गरिरहेका छन्।
प्रतिशोध, पूर्वाग्रह, दाउपेच, षड्यन्त्र र रिसरागका सिँढीबाट जति उचाइमा पुगे पनि, अन्ततः त्यसको ओरालो यात्रा निकै कष्टपूर्ण हुनेछ। अहिले नेपालमा शासक र जनताबीच देखिएको खाडल यही हो।
तपाईंकै आफ्नै कर्मका कारण संजाल, सडक र सदनमा घृणाहरू वर्षिएका हुन् भन्ने कुरा एकपटक अझै आत्मसमीक्षा गर्ने कि ओलीज्यू?