काठमाडौँ । इन्डिया–पाकिस्तान तनाव चलिरहेको समयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कोष सुविधा (ईएफएफ) अन्तर्गत पाकिस्तानलाई तत्काल एक अर्ब अमेरिकी डलर ऋण जारी गरेको छ।
पाकिस्तानलाई ऋण दिने पक्षमा भएको मतदानमा इन्डियाले भने विरोधस्वरुप भाग नै लिएन। तर, अमेरिका, चीन, रुस, युरोपेली मुलुकहरु, दक्षिण कोरिया, जापान लगायतका देशहरुले भने पाकिस्तानको पक्षमा भोट हालेका थिए ।
पाकिस्तानको कमजोर ट्रयाक रेकर्ड भएको बताउँदै इन्डियाले कोषको दुरुपयोग आतंकवाद बढाउन हुन सक्ने उल्लेख गरेको छ।
इन्डियाले भनेको यो कुरा भने अन्य देशले पत्याएनन् ।
शुक्रबार आईएमएफले १ अर्ब डलरको ईएफएफ ऋण कार्यक्रमको समीक्षा गरेको थियो। यसमा पाकिस्तानको लागि १.३ अर्ब डलरको नयाँ लचिलोपन र स्थिरता सुविधा ऋण कार्यक्रमको विषय पनि समावेश थियो।
इन्डियाले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले लामो समयदेखि आईएमएफबाट ऋण लिइरहेको तर आईएमएफका सर्तहरू पालना गर्ने सन्दर्भमा उसको ट्रयाक रेकर्ड धेरै खराब भएको जनाएको छ।
पछिल्लो ३५ वर्षमा पाकिस्तानले २८ वर्ष आईएमएफबाट ऋण लिएको छ। २०१९ देखि पछिल्लो पाँच वर्षमा चार पटक आईएमएफ बेलआउट कार्यक्रमहरू सञ्चालन भइसकेका छन्। यदि अघिल्लो बेलआउट सफल भएको भए पाकिस्तानले अर्को बेलआउट कार्यक्रमको लागि ऋण लिनु नै नपर्ने इन्डियाले जनाएको छ।
पाकिस्तानको रेकर्डले आईएमएफ कार्यक्रमहरू या त राम्ररी डिजाइन वा अनुगमन गरिएको थिएन वा पाकिस्तानले राम्ररी कार्यान्वयन नगरेको आरोप लगाएको छ।
इन्डियाले पाकिस्तानी सेनाले आर्थिक मामिलामा हस्तक्षेप गरेको र यसले नीतिगत गलत गणना र सुधारहरू उल्टाउने जोखिम बढाएको जनाएको छ।
पाकिस्तानमा नागरिक सरकार भए पनि सेनाले घरेलु राजनीतिमा ठूलो भूमिका खेल्ने र अर्थतन्त्रमा पनि हस्तक्षेप गर्ने जनाइएको छ।
इन्डियाको यो विज्ञप्तिलाई विकसित देशका अर्थअधिकारीहरुले विश्वास गरेका छैनन् ।
आइएमएफ स्रोतहरूको दीर्घकालीन प्रयोगको मूल्याङ्कन गर्ने आइएमएफ प्रतिवेदनमा पनि पाकिस्तानलाई ऋण दिँदा राजनीतिक विचारलाई ध्यानमा राखिएको जनाएको र बारम्बार ऋण लिइरहँदा पाकिस्तानमाथि ऋणको भार धेरै बढेको उल्लेख छ।
यो विषयमा भ्रम फैलाउन इन्डियाले आफ्ना आर्थिक विज्ञहरु खटाएको थियो ।
इन्डियाले सीमापार आतंकवादलाई बढावा दिनेहरूलाई पुरस्कृत गर्नु गलत रहेको भन्दै विरोध गरेको छ। यसले विश्वमा गलत सन्देश जानेछ र कोष एजेन्सीहरू र दाताहरूको छवि धमिलो पार्ने जनाएको छ।
इन्डियाले भनेको आईएमएफ जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आउने पैसा आतंकवादको लागि प्रयोग गर्न सकिने पनि दाबी गरेको छ।
इन्डियाको यो भनाईलाई उसको आफ्नो स्वार्थ र पाकिस्तानसँग बदला लिने अस्त्र मात्र भएको विकसित मुलुकका अर्थशास्त्रीहरुले विश्लेषण गरिरहेका छन् ।
एजेन्सी