काठमाडौँ । इतिहासमा तत्कालीन राजा महेन्द्र शाह र ०१७ सालका प्रधानमन्त्री वीपी कोइरालाबीचमा को बढी राष्ट्रवादी भन्नेमा अझै बहस जीवित छ । कारण, इन्डियासँग टक्कर दिएर कुटनीतिक सम्बन्ध स्थापित गर्न सक्नु ।
तर, नेपालमा सबैभन्दा पुरानो राजनीतिक दल मध्येको शक्तिशाली र जनअनुमोदन कायमै रहेको नेपाली कांग्रेसले किन बेला–बेलामा इन्डियाभक्ति देखाउँछ ? यो प्रश्न वीपीको मृत्युपछि सधैं जब्बर बनेर खडा भएको छ ।
बिहीबार नेपालको संसदमा यस्तै दृष्य फेरि दोहोरियो । देशको परराष्ट्रमन्त्री भइसकेका कांग्रेस नेता एनपी साउदले प्रतिनिधिसभामा बोलेको विषयले इन्डियापरस्त मात्र झल्किन्थ्यो । साउदले होसमै बोलेको कुरा पुरै झुठ मात्र थियो ।
साउदले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा कश्मीर पहलगाम घटना र इन्डिया–पाक तनावको बीचमा पाकिस्तानी सेनाको प्रतिनिधिमण्डल नेपाल आएको भन्दै सरकारले सो भ्रमण रोक्नुपर्ने थियो भने ।
एनपी साउदकै जस्तै इन्डियनपरस्त पारामा घुमाउरो ढंगले रामहरि खतिवडाले पनि यस्तै बोलेका थिए । खतिवडा सामाजिक संजालमा सर्वसाधारण नागरिकबीच निकै अलोकप्रिय व्यक्तिमा पर्छन् ।
उस्तै भाका मिलाएर कांग्रेसका पूर्व लो क्लासका नेता तथा इन्डियातर्फ ज्यादा कनेक्सनमा टिकेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि इन्डियनभक्त देखाएका थिए । धेरैलाई अहिले पाकिस्तानी सेनाको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको भ्रम पार्ने सो अभिव्यक्ति तथ्यमा आधारित थिएन । जुनकुरा विल्कुल झुटो मात्र हो ।
उनीहरू पाकिस्तान लगायत देशका विद्यार्थी भएको र नियमित तालिमकै प्रक्रियाअन्तर्गत यो टोली नेपालमा रहेको छ । नेपाली सेनाले यो कुरा स्पष्ट पारेको छ । उनीहरू पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीका प्रशिक्षार्थी हुन् ।
नेपाली सेनाको व्यवस्थापन र नेपाल सरकारको स्वीकृतिबाट हाल नेपालमा रहेका ११ जना पाकिस्तानी र १ जना अमेरिकीसहित १२ जना सैनिक शिक्षार्थी शुक्रबार फर्किने तालिका रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेना स्रोतका अनुसार, अहिले बाहिर हल्ला आएजस्तो पाकिस्तानी सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको होइन । एक अमेरिकीसहित १२ जना शिक्षार्थीले नेशनल डिफेन्स तालिम अन्तर्गतकै प्याकेजमा पर्ने कन्ट्री भिजिट गरेका हुन् ।
कर्णेल तहका ती शिक्षार्थीहरूको सबै व्यवस्थापन नेपाली सेनाले गर्ने र नियमित कोर्षकैअन्तर्गत भ्रमण आदान–प्रदान हुनेछ । विभिन्न देश छानेर शिक्षार्थीहरूलाई पठाउने क्रममा १२ जना नेपालमा परेका हुन् । यसको तयारी ३ महिनाअघि नै भएकाले अहिलेको भारत–पाक तनावसँग सम्बन्ध नरहेको सेनाले प्रष्ट पारेको छ ।
नेपाल र पाकिस्तानबीच लामो समयदेखि सैन्य तालिम आदान–प्रदान हुने गरेको छ । पाकिस्तानको नेशन डिफेन्स युनिभर्सिंटीमा नेपाली सेनाका अधिकृतहरूले कोर्ष गर्न जान्छन् । यो कोर्षको सैनिक वृत्ति विकासमा महत्व रहेको छ । नेपाली सेनाका पूर्वसेनापति रुक्माङ्गद कटवाल,गौरवशम्सेर जबरा पनि इस्लामावादको नेशनल डिफेन्स युनिभर्सिटीका पूर्वशिक्षार्थी हुन् ।
शिक्षार्थीहरूको टोली वैशाख २१ गते नेपाल आएको थियो ।
तर, यता नेपालमा भने प्रमुख दलका नेता इन्डियनभक्त देखाउन अनावस्यक विवाद निम्त्याउन खोज्दैछन् । खासगरि, नेपाली कांग्रेसले वीपी कोइरालाको निधनपछि चार दशक यो अवधिमा इन्डियनपरस्त चरित्र देखाउँदे आएको छ ।
नेपाली कांग्रेसका संस्थापक र पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले भने विसं २०१७ सालमा पाकिस्तानसँग कुटनीतिक सम्बन्ध राखेर नेपालको सार्वभौम पहिचान स्थापित गरिदिएका थिए ।
तत्कालीन राजा महेन्द्र र पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीले मात्र इन्डियासँग नेपाल सार्वभौम मुलुक भएको र कसैको गुलाम नगर्ने सन्देश दिएका थिए । त्यो कालखण्डअघि नेपाल कुनै न कुनै रुपमा इन्डियाको गुलामी गर्ने मुलुक देखिन्थ्यो ।
अहिले भने नेपाली कांग्रेसका अधिकांश नेताहरुको बोली, व्यवहार, राजनीति र विचार हेर्दा वीपीले स्थापना गरेको सिद्धान्त, स्वाभिमान परित्याग गरेको स्पष्ट देखिन्छ ।
यी नेताहरुले इन्डियाले सिमाना मिचेको अहिलेसम्म बोलेका छैनन् । नेपालको कालापानी भूमिमा अहिले इन्डियन सेना बसेका छन् । तर, यिनीहरु चुप छन् । पूर्वदेखि सूदुरपश्चिमसम्मका सीमा क्षेत्रमा इन्डियाले सिमाना मिच्दा यी नेताहरु भने दिल्लीमा इन्डियन नेताकै चाकडी गर्न पुग्छन् । अहिलेसम्म नेपाली कांग्रेसका कुनै पनि नेताले इन्डियाले सिमाना मिचेको बोल्न सकेका छैनन् ।
स्मरणरहोस, नेपालको संसदमा नेपाली कांग्रेसका धेरैजसो नेताहरुले इन्डिया स्वतन्त्रता दिवसका अवसरमा हत न पत बडो साखुल्यै बन्दै शुभकामना दिने गर्छन् । (संसद सचिवालयका पुराना रेकर्ड हेर्न र सुन्न सक्नुहुनेछ )
कांग्रेसका नेताहरु तथा सांसदहरुले बेला–बेलामा इन्डियाको भक्तिभाव देखाएर बोल्ने अभिव्यक्ति निकै अस्वभाविक लाग्ने गरेको छ ।