काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ । शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ।
फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ। हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ। मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ– यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व पनि छ ।
फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलहरुका नेता लगायतले शुभकामना दिएका छन् ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।
नेपालको तराई क्षेत्रमा फागु भोलि मनाईन्छ । इन्डियामा भने यो पर्वलाई होलिका रुपमा मनाइने प्रचलन रहेको छ ।