काठमाडौँ । पूर्व श्री ५ महाराजधिराज (पूर्व राजा) ज्ञानेन्द्र शाहले नेपालको इतिहास मेटिँदै गएको र अस्तित्व नासिँदै गएको औंल्याउँदै राष्ट्रिय एकता कायम राख्न र राष्ट्र जोगाउन लागिपर्नुपर्ने समय आएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७)को अवसरमा शुभकामना सन्देश दिँदै उनले देशको समृद्धि र उन्नतिका निमित्त आफूलाई साथ दिन सबै देशवासीलाई आह्वान् पनि गरेका छन् ।
समस्त नेपालीजनको नाममा दिइएको भिडियो सन्देशमा राजा ज्ञानेन्द्रले भनेका छन्,‘राष्ट्ररक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ । हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख–सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । र, त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन ।’
यस्तो छ राजा ज्ञानेन्द्रद्वारा जारी शुभकामना सन्देशको पूर्ण विवरण–
नेपाली दिदीबहिनी तथा दाजुभाइहरू !
नेपालमा प्रजातन्त्रको मिर्मिरे बिहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना ब्यक्त गर्दछौँ । प्रजातन्त्र स्थापनाका लागि उदारता दर्शाइबक्सिने हाम्रो जिजुबुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको इतिहास साक्षी छ । यसैले प्रजातन्त्रका लागि जीवनदान दिने ज्ञात–अज्ञात शहीदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी उच्च सम्मान भाव राख्दछौँ ।
प्रजातन्त्र आजको युगको उत्तम शासन पद्दति हुनुपर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि, व्यवस्था तथा मान्यताअनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनु पर्दथ्यो । यसबाट हामी कोही विमुख छैनौँ । राष्ट्रभित्रका हरेक वर्ग, समूह वा व्यक्तिको हक–अधिकारको संरक्षण गर्दै प्रतिष्ठ तथा प्रगति अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । यसमा कहीँ कसैको शंका हुन हुँदैन ।
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वादविवाद, द्वन्द्व, विग्रह वा विरोध–प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रूपमा पनि हेर्नुपर्दछ । सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ । सबैको अस्तित्व सूरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंककार, आ–आफ्नै किसिमको स्वार्थ र हठवादले प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन अन्तै पोखिँदै गएको छ । जन्मदै नेपालीको शीरमा हजार होइन लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार व्यवसाय निरन्तर धराशायी बन्दैछ । हुँदा–हुँदा हाम्रा शिक्षालयहरूहमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् । ‘नेपालको पद्दति, नीति र गतिविधि ठिक छैन, यहाँ बसेर केही हुँदैन’ – श्रम, शीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन ।
प्रजातन्त्र आशा जनाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा बढाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै फुल्दै जाँदा हामी सबैको भविष्य चम्किँदै जान्छ भन्ने भावना जागृत गराउने हुनुपर्दछ । तर, तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेको र रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो ।
हाम्रो यो नेपाल देशभक्त पुर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै सङ्कट नआओस् भन्ने हाम्रो परिकल्पना हो । यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यतिमात्र होइन हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख–सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन । र, त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै–कुनै पन्पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशय पनि त्यही हो ।
हाम्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौँ भन्ने कुराको हेक्का राखेर हामी अघि बढौँ । विगतका कमी–कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटी सच्च्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् । देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ । राष्ट्ररक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।
अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान् गर्दछौँ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।