काठमाडौँ । चौतर्फी आलोचना भएपछि अन्ततः ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका नेता कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
राजनीतिको आवरणमा जोशीलाई पक्राउ गर्न नदिएको चौतर्फी आवाज उठेको थियो ।
जोशीलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नयाँ बानेश्वरबाट आज बिहीबार पक्राउ गरेको हो। जोशी सहितको समूहले माघ २४ गते ठमेलमा दरबारमार्ग वृत्तका क्विक रेस्पोन्स टिम (क्युआरटी)का प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टलाई आक्रमण गरेको थियो।
यसअघि माघ २७ मा ताप्लेजुङका दिनश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई पक्राउ गरेको थियो। तर, घटनामा संलग्न पाँच जना भएको सीसीटीभी फुटेजमा देखिए पनि प्रहरीले जोशीलाई भने अनुसन्धानको दायरामै ल्याएको थिएन।
सीसीटीभी फुटेजमा जोशीले प्रहरीलाई कुटपिटबाट जोगाउन खोजेको भन्दै उन्मुक्ति दिने प्रयास गरेको थियो।
सत्ताको आडमा कारबाही नगरिएको भन्दै आलोचना भएपछि प्रहरीले फेरि पक्राउ पुर्जीको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो।
उनीहरूलाई अभद्र व्यवहारको कसूर लगाइएको छ। पक्राउ परेकाहरूले जोशीको उक्साहटमा प्रहरीलाई कुटपिट गरेको सोधपुछका क्रममा बताएका छन्।
पछिल्लो पटक प्रहरीमाथि आक्रमण हुन थालेपछि गृहमन्त्री रमेश लेखकले दोषीलाई पक्राउगरि आवस्यक कानुनी कारवाही गर्न निर्देशन दिएका थिए ।
सामाजिक संजाल र मिडियाले निरन्तर खबरदारी गरेपछि सरकार बाध्य भएर दोषीलाई पक्राउ गरेको हो । सत्ताको उन्मादका कारण सत्ताधारी दलका कार्यकर्ताहरु टोलेगुण्डामा रुपान्तरण हुन थालेका छन् ।