काठमाडौँ । ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपाल सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएर फर्कंदा निकैबेर प्रहरीको केरकारमा परेका छन् । सिंहदरबार परिसर भित्रै निकैबेर प्रहरीले सोधपुछ गरेको नेपालले जानकारी दिए ।
‘२/४ जनाको प्रहरी टोली आयो, निकै बेर सोधपुछ पो गर्यो, सोमबार मध्यान्हमा सिंहदरबार भित्रबाटै उनले भने,हामी अनुमति लिएर आएका हौँ, सभामुखसँग भेट गरेर फर्किन लागेका हौँ, भन्दा पनि प्रहरीले अल्झाइरहे ।’ प्रहरीले असम्बन्धित प्रश्नहरु सोधेको देख्दा आँफू आश्चार्यचकित भएको उनले बताए ।
सामान्यतया सिंहदरबार भित्र अनुमति लिएर प्रवेश गरेपछि चेकजाँच गरिंदैन । दैनिक काम सकेर फर्कने सयौं व्यक्ति हुन्छन् । यसरी फर्किने सबैको जाँच गर्ने चलन पनि छैन ।
प्रवेश गर्नुभन्दा पहिले नै अनुमतिको प्रक्रिया र चेकजाँच हुनु सामान्य हो । तर, काम सकेर फर्किन लाग्दा प्रहरीले निकैबेर किन केरकार गर्यो, यो विषय गंभिर रुपमा उठेको छ ।

अस्वभाविक सोधपुछ सम्बन्धमा काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिंदै भने,‘यो विषय कुनै जानकारी मै आएन ।’ उहाँ (फणीन्द्र नेपाल)सँग कुनै निगरानी वा सोधपुछको बारेमा कुनै सूचना नभएको उनले बताए ।
ग्रेटर नेपालको आधिकारिक संस्था ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट कालापानी क्षेत्रमा रहेका इन्डियन सेना हटाउन माग गर्दै फणीन्द्र नेपाल ज्ञापनपत्र बुझाउन सभामुख घिमिरे समक्ष पुगेका थिए । इन्डियन सेना हटाउन माग मोर्चाका अध्यक्ष समेत रहेका नेपालसँग केन्द्रीय सदस्य रत्न प्रजापति पनि साथमा थिए ।
उनले नेपालको सिमाना इन्डियाले मिचेको, इन्डियाबाट नेपालमा बेलाबेलामा हुने अनावस्यक दख्खल र कालापानीमा इन्डियन सेनाको अड्डाका बारेमा विरोध जनाउँदै निरन्तर खबरदारी गरिहेका छन् ।
अध्यक्ष नेपालले ग्रेटर नेपाल (बृहत्तर नेपाल) को मुल मुद्दा बोकेर साढे तीन दशकभन्दा बढी समयदेखि अभियान छेडिरहेका छन् ।