काठमाडौँ । अमेरिकी अध्ययन संस्था पिउ रिसर्च सेन्टरको अध्ययनअनुसार सन् २०२४ मा मात्र विभिन्न स्थानमा भएको गोलीकाण्डमा ४४ हजार ४ चार ४७ ले ज्यान गुमाएका छन् ।
अमेरिकी सरकारी निकाय यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकलाई आधार मान्दै पिउले तयार पारेको अध्ययनले २०२४ मा गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या सन् १९६८ पछिकै सबैभन्दा बढी रहेको देखाएको छ । तथ्यांकअनुसार सन् २०२३ मा ४६ हजार ७ सय २८, २०२२ मा ४८ हजार २ सय ४ र २०२१ मा ४८ हजार ८ सय ३० जनाले गोलीकाण्डका कारण ज्यान गुमाएका थिए । हालसम्म २०२५ को आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन ।
२०२४ मा भएका गोलीकाण्डमा मृत्यु भएका ४४ हजार ४ सय ४७ मध्ये सबैभन्दा बढी ६२ प्रतिशत (२७ हजार ५ सय ९३) आत्महत्या, ३५ प्रतिशत (१५ हजार ३ सय ६४) हत्या, कानुन प्रवर्तनसँग सम्बन्धित ६ सय ३६, दुर्घटनावश ४ सय ५० र अन्जान परिस्थितिमा ४ सय ४ जना रहेको पीयूको तथ्यांक छ । सन् २०२४ मा गरिएको अध्ययनअनुसार वासिङ्टन डीसी, मिसिसिपी, लुइजियाना, अलाबामा, न्युमेक्सिकोमा सबैभन्दा बढी र न्युह्याम्सायर, मेइन, आरहोड आइल्यान्ड, आइडाहो र नर्थ डकोटा सबैभन्दा कम गोलीकाण्ड हुने राज्यमा समावेश छन् ।
पछिल्लो पटक तीन साताअघि लुइजियाना राज्यको श्रीभपोर्ट सहरमा एक बुबाले आफ्ना सात जना छोराछोरीको गोली प्रहार गरेर हत्या गरेका थिए । समार एल्किन्स्ले आफ्ना सात जना छोराछोरीको हत्या गरेको प्रहरीले जनाएको थियो । हत्या आरोपी समार प्रहरी कारबाहीमा मारिएका थिए । घटनामा १० जनालाई गोली लागेको थियो । तीमध्ये सात बालबालिकासहित उनीहरूकी आमाको समेत मृत्यु भएको थियो ।
कान्तिपुर दैनिकले प्रकाशित गरेको समाचार अनुसार, यो घटनालाई २०२४ पछि भएको सबैभन्दा बढी क्षति भएको सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ ।
बन्दुकको प्रयोग सामान्य भएपनि अमेरिका विश्वकै सुरक्षित देशका रुपमा लिइन्छ । संसारका सबै देशका नागरिक अमेरिका बस्न रुचाउँछन् ।