काठमाडौँ । नेपालको कालापानी क्षेत्रबाट इन्डियाली (इन्डियन) सेना अविलम्ब हटाउन माग गर्दै ग्रेटर नेपालले आज सोमबार सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।
ग्रेटर नेपालका संस्थापक फणीन्द्र नेपालले सभामुख घिमिरेलाई उनकै कार्यालय सिंहदरबारमा भेटगरि ज्ञापनपत्र बुझाएका हुन् ।
ग्रेटर नेपालको आधिकारिक संस्था ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट अध्यक्ष नेपालले बुझाएको ज्ञापनपत्रमा प्रतिनिधि सभाले कालापानी क्षेत्रबाट इन्डियाली (इन्डियन) सेना अविलम्ब हटाउन एक हप्ताभित्र संकल्पप्रस्ताव पारित गरोस् भन्ने उल्लेख छ ।
ज्ञापनपत्र बुझेपछि सभामुख घिमिरेले यो विषयमा संसदबाट आवाज उठाउन सांसदहरुको भुमिका महत्वपूर्ण रहेको जवाफ दिनुभएको मोर्चा अध्यक्ष नेपालले जानकारी दिए ।
‘सभामुखले ज्ञापनपत्रलाई निकै सकारात्मक रुपमा लिनुभयो, उनले भने,‘सांसदहरुलाई पनि यो पत्र वितरण गर्नुभयो भने उहाँहरुबाट संसदमा आवाज उठ्दा अझ महत्व पाउने सभामुखले सुझाव दिनुभएको छ ।’ सभामुखले उच्च सम्मानका साथ ग्रेटर नेपालको यो मागलाई महत्व दिंदा प्रेरणा मिलेको र अब यो विषय संसदबाट उठ्ने नेपालले विश्वास व्यक्त गरे ।
मोर्चाको तर्फबाट अध्यक्ष नेपाल सहित केन्द्रीय सदस्य रत्न प्रजापति सभामुखलाई ज्ञापनपत्र बुझाउन गएका थिए ।
सभामुखलाई बुझाएको ज्ञापनपत्र–

प्रतिनिधि सभाले एक हप्ताभित्र संकल्पप्रस्ताव पारित गरोस् भन्ने विषयमा प्रतिनिधि सभाका सभामुखसमक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति -
सम्माननीय सभामुखज्यू
प्रतिनिधि सभा
संसद् सचिवालय
सिंहदरबार , काठमाडौँ
विषय: ज्ञापनपत्र
सभामुख महोदय,
इन्डियाले २०१९ नोभेम्बर २ तारिखमा उसको राजनीतिक नक्सामा नेपालको दार्चुला जिल्लाको पश्चिम–उत्तरमा अवस्थित लिम्पियाधुरा , कालापानी र लिपुलेकलाई राखेर नक्सा अतिक्रमण गरेकोमा नेपालले पनि २०७७ साल वैशाख ७ गते लिम्पियाधुरा , कालापानी र लिपुलेक नेपालको राजनीतिक नक्सामा समेटेको थियो । यो अद्यावधिक नक्सालाई संयुक्त सदनले २०७७ साल जेठ ७ गते सर्वसम्मतिले पारित गरेको थियो भने २०७७ साल जेठ २३ गते नेपालको संविधान संशोधन गरी यसलाई संविधानको अभिन्न अङ्ग बनाएको थियो ।
पहिले असावधानीवश छुटेका भूभाग आफ्नो देशको राजनीतिक नक्सामा समेट्नु जति महत्त्वपूर्ण हो , त्योभन्दा पनि महत्त्वपूर्ण नेपालको त्यो सार्वभौमसत्तासम्पन्न भूमिबाट इन्डियाली सेना हटाई सो भूभाग नेपालको नियन्त्रणमा लिनु हो , तर नेपालको राजनीतिक नक्सा अद्यावधिक भएको पाँच वर्ष पुग्न लाग्दा पनि त्यहाँबाट इन्डियाली सेना हटाउने कुनै प्रयास भएको देखिएको छैन । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा प्रतिनिधि सभाले कालापानी क्षेत्रबाट इन्डियाली सेना अविलम्ब हटाउन एक हप्ताभित्र संकल्पप्रस्ताव पारित गरोस् भन्ने विषयमा प्रतिनिधि सभाका सभामुखसमक्ष समयसीमाबारे जानकारी दिन चाहन्छ ।
फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ