काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दुईटा ठूला पार्टी मिल्नेवित्तिकै मनपरी गर्छु भन्ने ठानेको भए सम्भव नरहेको भन्दै चेतावनी दिएका छन्।
अहिलेको सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पुर्याउन अध्यादेश ल्याएको टिप्पणी गरे। ‘संसदको अधिवेशन छल्न खोजेर रातारात अध्यादेश ल्याउनुपर्ने आवश्यकता के थियो ? ’, उनले प्रश्न गरे।
दुई दिनदेखि पोखरामा जारी नेकपा एकीकृत समाजवादी पार्टी गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन कार्यक्रममा उनले नेपालमा शासकले देखाइरहेको प्रत्येक रवैयाले शासकहरुको लोकप्रियतामा ह्रास आइरहेको बताए।
‘उनीहरुप्रति जनतामा वितृष्णा पैदा भइरहेको छ। त्यतिमात्रै होइन राजनीतिप्रति पनि वितृष्णा पैदा हुने स्थिति बनिरहेको छ। यो मामिलामा हाम्रो पार्टी गम्भिर हुनुपर्नेछ’, उनले भने।
नेकपा एकीकृत समाजवादीलाई गल्ती गर्ने छुट नभएको उनले बताए। पवित्र उद्वेश्य भएकाले आफ्नो पार्टीले तंरग पैदा ल्याउन सक्ने उनको चेतावनी छ। सत्तामा अहिले कम्युनिष्ट पार्टीकै मान्छे भएपनि मति विग्रेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ।
‘सत्तामा उही पुरानो हाम्रो पार्टीका मान्छे छन्। तर, के गर्नु मति बिग्रेपछि केही गर्न सकिदैन। हामी सम्झाउन खोज्दा खोज्दै पार लागेन’, उनी भन्छन्, ‘पार लाग्छ की भनेर हाम्रो प्रचण्ड जि खुब लाग्नुभो। सँगसँगै दोस्तानासमेत राख्नुभो। हामीलाई पनि फकाइदिए एकचोटि हेर्नुस कम्युनिष्ट कम्युनिष्ट एक हौं भनेर। हामी पनि दंग पर्यौँ । कम्युनिष्ट कम्युनिष्ट एक हौं भनेपछि त पक्कै होला भन्यौं।’
नेपालले अगाडि थपे, ‘हाम्रो भावना पवित्र भएर मात्रै हुदैन। अरुको नियत, प्रवृत्ति, विचार ठिक छैन भने त्यहाँभित्र चरम व्यक्तिवाद, अंहकार छ भने दक्षिणपन्थी भड्काउको सिकार भएका छन् भने त्यस्ता व्यक्तिहरु पवित्र उदेश्यले चल्दैनन्। त्यस्ताहरुसँगको एकता फलिफाप हुदैन भन्ने कुरा पनि देखिएको छ।’
उनले घुमाउरो पारामा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरको संज्ञा दिए।
राज्यको स्रोत दोहन गरेर भ्रष्टाचारमा लिप्त रहेर सरकार सञ्चालन गरिरहेको उनको आरोप छ। नारामा जनतालाई अलमल्याउने प्रवृत्ति व्याप्त भएको उनको भनाइ थियो।
नेकपा एकीकृत समाजवादी पार्टीले अगिंकार गरेको विचार र उदेश्य ठिक भएको बताए। आफ्नो पार्टी खुलेकोमा अरुलाई ठिक नलागेपनि सही दिशमा पार्टी रहेको पूर्वप्रधानमन्त्री नेपालले दाबी गरे।
उनले पार्टीका नेता कार्यकर्तालाई निराश नभइकन चुनौतिलाई पार लगाउन सुझाव दिए। देश बनाउनलाई पवित्र भावना भएको नेता चाहिने उनले बताए।
केपी ओली वेइमान छन्, हाम्रा कुरा के सुन्थे, नेपालले भने ।