काठमाडौँ । माओवादी युद्धका बेला लडाकु सैन्य प्रशिक्षण प्रमुख बनेका रामबहादुर थापा ‘बादल’ले अहिले त्यही जनयुद्धलाई निरर्थक संज्ञा दिन थालेका छन् ।
बादलले यस्ता युद्धका दिवस गर्न नहुने तर्क अघि सारेका छन् । उनले सार्वजनिक रुपमै जनयुद्ध हिंसा भएकोले दिवस मान्न नहुने दावी गरेका छन् ।
‘माओवादीले सुरु गरेको जनयुद्ध ‘हिंसा’ हो, हाल नेकपा एमालेका उपाध्यक्ष रहेका बादलले भने,‘हिंसामा मर्ने र मार्ने हुन्छ, राजनीति हुँदैन ।’
आज बिहीबार अछाम जिल्ला पुगेर उनले पत्रकार भेला गर्दै भनेका छन्,‘जनयुद्ध भनेको हिंसा नै हो। जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो, हिंसामा मर्ने र मार्ने हुन्छ ।’
बादलको यो भनाइले एमाले अध्यक्ष ओलीले भन्दै आएको माओवादीप्रतिको टिप्पणीलाई सदर गरिदिएको छ ।
‘ओली जीको भनाईमा मेरो आपत्ति छैन,बादलले भने, ‘यो कुरालाई माओवादीले पनि मान्छ। मार्क्सवादीहरुले मान्छ, युद्ध हिंसा भनेको वर्ग संघर्ष हो। हिंसा भनेको संघर्षको सर्वोच्च रुप हो। वाक युद्ध वा शान्तिपूर्ण प्रदर्शन पनि हुन्छ। प्रत्येक हिंसा चाहिँ युद्ध होइन फेरि, युद्ध भनेको राजनैतिक आन्दोलन र संघर्षको उच्चतम रुप मान्छ मार्क्सवादले।’
तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि जनयुद्ध र सशस्त्र संघर्षको विषयमा गहन छलफल भएको उनले खुलाए।
१० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको नेकपा गठन हुँदा पनि लेखेको र एमालेको १० औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले जानकारी गराए।
तत्कालीन एमालेले माओवादीको आन्दोलनलाई उग्रवामपन्थी भनिएको दाबी गरे। उनले मदन भण्डारी र जबजको विषयलाई पनि प्रष्ट्याए।
माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको उनको भनाइ छ। बादललेले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गरे।
‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन, माओवादीहरूको एक ढंगको स्टनबाजी हो। गणतन्त्र दिवस मनाउने हो, क्रान्ति पूरा गरेकाले गणतन्त्र दिवस मनाइएको हो, त्यो मनाइरहिएको छ।
संविधान दिवस मनाउने हो, त्यो मनाइरहेका छौं। जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो। जनयुद्धले गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो भन्ने हो जनयुद्ध दिवस मनाउने होइन।’
उता हालको नेकपा माओवादी केन्द्र भने फागुन १ गते जनयुद्ध दिवस मनाउनुपर्नेमा जोड दिंदै आएको छ ।
तर, त्यही माओवादी युद्धका एक मुख्य कमाण्डर बादलको यो अभिव्यक्तिले प्रचण्डले जनयुद्धको औचित्य पुष्टि गर्न खोजेका विषयलाई नयाँ वहस सृजना गरिदिएको छ ।