काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी गराए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको उल्लेख गरे । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गराए ।
नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित आजै काठमाडौँ आएका हुन् । भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफी, नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए ।
त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गर े। उनले भ्रमणका क्रममा हिमालमा जलवायु परिवतर्नले पारेका असरबारे बुझ्न पाउने अपेक्षा व्यक्त गरे ।
अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय थप सान्दर्भिक हुने धारणा राखे ।