बुटवल । गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेको थुनछेक बहस आज बिहीबार पनि सकिएन । बिहीबार रुपन्देही जिल्ला अदालतमा रवि विरुद्धको थुनछेक मुद्दामा सरकारी ववीलको बहस सकिएको हो । भोलि शुक्रबार पीडित पक्ष दुई वकीलको बहस बाँकी रहेको छ ।
रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले सरकारी वकीलको बयान सकिएको बताए । उनले पीडित र रविका तर्फबाट भोलि बहस हुने जानकारी दिए । आज पनि अदालतले रविलाई उनको श्रीमती निकीता पौडेल लामिछानेको जिम्मा लगाएर पठाएको छ ।
सरकारी बहसमा जिल्ला सरकारी वकीलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकील कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका थिए ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका रविलाई यसअघि कास्की र काठमाडौँले यही प्रकृतिको मुद्दामा धरौटीमा छोडेको थियो । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः बहस हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी रवि हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।
सरकारी वकीलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् । संभवतः भोलि नै अदालतले थुनछेकको फैसला गर्न सक्ने संभावना देखिएको छ ।