जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा आज कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ ।
हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका- ६ स्थित रतौलीका स्व ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपालि पनि एक सय सात पाहुर (भार) जानकी मन्दिरमा ल्याइनेछ ।
मन्दिरको पाहुरमा पान, मखान, लड्डु, खाजा, दही, चावल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहनेछ । स्व ब्रह्मदेव ठाकुर परिवारका सदस्य नवीन ठाकुरले वर्षौंदेखिको परम्परालाई निरन्तरता दिइने बताउनुभयो । यो परम्परा एक सय सात वर्षदेखि चल्दै आएको उहाँले बताउनुभयो ।
जानकी मन्दिरका महन्त तपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ । उक्त पूजा आकर्षक हुने गर्छ।
मिथिलाञ्चलमा नव विवाहित बेहुलाका घरमा पनि कोजाग्रत पर्व मनाउने परम्परा छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा रहेकोे पण्डित सुरेश झा बताउनुहुन्छ ।
आचार्य पण्डित सन्तोषकुमार पाण्डेयका अनुसार चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँच वटा प्रमुख अङ्गलाई चुमाउने गरिन्छ । हातका पाँचऔँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच अङ्गको स्पर्शले शरीर ऊर्जावान् हुने विश्वास मिथिला क्षेत्रमा रहेको आचार्य पाण्डेले बताउनुभयो ।
कोजाग्रत पर्वलाई जागृति पर्वको रुपमा पनि मानिने र यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकारेको आचार्य पाण्डेको भनाइ छ ।
मैथिल संस्कृतिको एउटा प्रमुख अङ्ग रहेको यस पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एकअर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन रहेको जानकार डा राजेन्द्र विमलले बताउनुभयो ।