काठमाडौँ । आज कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी (प्रबोधिनी वा ठूली एकादशी) देशभर श्रद्धा र भक्ति भावसहित मनाइँदै छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिनदेखि चार महिनासम्म सुतेका भगवान् विष्णु आज कै दिन योगनिद्राबाट जाग्ने विश्वास रहेको छ । यस दिनलाई देवउठनी वा देवोत्थान एकादशी पनि भनिन्छ।
भगवान् विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा, शङ्ख, मृदङ्ग आदि वाद्यका माङ्गलिक ध्वनिका बिच यी श्लोक पढेर जगाउनु पर्दछ ।
उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।
विष्णु भगवानको जागरणसँगै चतुर्मासमा रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश र अन्य माङ्गलिक कार्यहरूको शुभ मुहूर्त सुरु हुने मान्यता छ। ठूली एकादशीमा घर आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरिन्छ। तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी, सेता, रातो, पहेँलो वस्त्र र फूलमालाले सिँगारिन्छ र विष्णुको प्रतीक लिङ्गोसँग विवाह सम्पन्न गरिन्छ।
व्रतालुले फलाहारमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्छन्। यस व्रतले हजार अश्वमेध र सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। दिवङ्गत पितृको नाममा खोलामा फूल तारेर ‘पितृभ्य स्वधा नमः’ उच्चारण गर्ने प्रचलन पनि छ । यसरी फूल तारेर पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरुलाई प्राप्त हुन्छ र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि र आशीर्वाद दिन्छन् भनी शास्त्रमा वर्णन गरिएको छ ।
शास्त्र अनुसार श्रीहरिलाई षोडशोपचार विधिबाट पूजा गर्ने र फलफूल, नैवेद्य अर्पण गर्ने परम्परा छ। व्रतालुले रातभर हरिनाम सङ्कीर्तन गर्दा भगवान् विष्णु अत्यन्त प्रसन्न हुने विश्वास गरिएको छ। यस दिनका व्रत, दान, स्नान र पूजा सबै अक्षय फलदायक हुन्छन्। हरिबोधनी एकादशीले न केवल भगवानको जागरणको स्मरण गराउँछ, तर माङ्गलिक कार्यको शुभारम्भ र भक्तिको अवसर पनि प्रदान गर्दछ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।
पूजा विधिः
बिहान उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने
भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।
ॐ नमो भगवते वासुदेवाय मन्त्रको जप गर्ने
दिनभर व्रत गरी फलाहार वा निर्जला व्रत गर्न गर्ने ।
राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।
भोलिपल्ट द्वादशीको दिन पारण (भगवानको पूजा) गरी व्रत खोल्ने ।