काठमाडौँ । हाम्रा चाडपर्व, परम्परा र संस्कारलाई अन्यत्र मोडेर सम्बोधन गर्दा नयाँ पुस्तामा भ्रम सृजना हुँदै गएको छ । नेपाली पुर्खाले नेपाली मौलिकतामै सृजना गरेका पर्व, नाम, बिधि, सम्बोधन आदि ठीक र सही ढंगले उच्चारण नहुँदा समाजमा एकखाले भ्रम पैदा हुँदै गएको हो ।
आज हामीले कुन नेताले कति शुद्ध शुभकामना व्यक्त गरे अनि हाम्रो मौलिकता अनुसार भन्नुपर्ने के हो भन्ने बारेमा चर्चा गरेका छौँ । ।
सर्वप्रथम कुन कुन नेताले शुद्ध सम्बोधन गरे ? यहाँ प्रस्तुत गरिएको छ ।
शुद्ध सम्बोधन गर्नेहरु
१, केपी शर्मा ओली, प्रधानमन्त्री (पार्टी, नेकपा एमाले,अध्यक्ष)
प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारका सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् । ओलीले शुद्ध दशैँ मात्र भनेर सम्बोधन गरेका छन् ।
उनले बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित हुनुपर्ने भएकाले टीकाको कार्यक्रम नराखिएको बताएका हुन् ।
आज टीकाको दिनमा भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्– यो वर्षको दशैं उल्लासमय हुन सकेन । दशैंको मुखमा दशैं अघि आएको भीषण बाढी र पहिरोको कारण २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । कति घाइते हुनुभयो । धेरै जनधनको क्षति भयो । भौतिक पूर्वाधार पुलहरू बाटाहरू ध्वस्त भए । धेरैलाई घरबारविहीन बनायो । परिवारका सदस्यहरू बाढी पहिरोले चुँडेर लग्यो । यसैले हामी विगतजस्तो हामी दशैंमा यो अवसरमा रमाउन सकेको छैनौँ । सरकारको नेतृत्वमा रहेको हैसियतले पुनर्निर्माण र पुनर्स्थापनामा जुट्नुपर्ने आवागमन सुगम बनाउनुपर्ने उत्तरदायित्वमा लागिरहेको छु ।
उनले अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । सरकार भत्किएका घरहरू पुनर्निर्माण गर्नतर्फ र राहत तथा पुनर्स्थापनामा लागिरहेको पनि ओलीले आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले गच्छेअनुसार दशैं मनाउन सबैलाई आग्रह गरेका छन् ।
२, शेरबहादुर देउवा, पुर्वप्रधानमन्त्री (पार्टी, नेपाली कांग्रेस, सभापति)
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्। देउवाको पनि दशैँ मात्र सम्बोधन छ । यो सम्बोधन नेपाली मौलिकताका आधारमा निकै शुद्ध मानिन्छ ।
देउवाले आज टीकाकै दिनमा शुभकामना दिंदै भनेका छन्,‘बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताएका छन्।’
दशैंको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौं नागरिक घरवारविहीन हुन पुगेको बताएका छन्।
‘मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन्। दशैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ,’ उनले उल्लेख गरेका छन्, ‘हजारौं नागरिकका करोडौंका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।’
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र भएको बताउँदै हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उनले बताएका छन्।
विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान रहेको उल्लेख गर्दै उनले दसैं एक धार्मिक र सांस्कृतिक पर्व भएको पनि बताएका छन्।
उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन्।
देउवाले फुलपातीका दिनमा दिएको शुभकामना पनि शुद्ध छ । फुलपातीमा जारी शुभकामना सन्देशमा सभापति देउवाले बडादशैंको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन्।
बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताएका हुन् ।
“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले विविधता बिचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व पनि हो । यस पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने दिएको छ”, सन्देशमा भनिएको छ ।
सभापति देउवाले बडादसैँको पुनीत अवसरमा कांग्रेस र आफ्नो तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
३, ज्ञानेन्द्र शाह, पुर्व श्री ५ (शाहवंशका हालसम्मका अन्तिम राजा)
पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् ।
दशैंको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् ।
ज्ञानेन्द्र शाहको यो सम्बोधन पनि शुद्ध मानिन्छ ।
शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो ।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।
नेपाल अहिले अत्यन्तै असहज अवस्थामा रहेको निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको उनको भनाई छ । गाउँबस्ती र सहरी क्षेत्र क्रमशः ‘युवा शक्ति विहीन’ बन्दै गइरहेको बताउँदै उनले आज मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न नसकेको जिकिर गरेका छन् ।
युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दै गरेकोमा उनले चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘रोजगारीको निमित्त बिदेसिनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेत वारी मात्र बाँझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ ।
हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो ।
बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ ।’
नेपाल ‘शान्त राष्ट्र’ को रूपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने आफ्नो मान्यता र आग्रह रहेको पूर्वराजा शाहले बताएका छन् । उनले भनेका छन्,’ ’यस दिशातर्फ हामी सबैको राष्ट्रिय सङ्कल्प हुनै पर्दछ ।
नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखा परेको अन्योल र अराजकताले झन् पुष्टि गरेको छ ।’
हेर्नुस ज्ञानेन्द्रको सम्बोधन
पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०८१ दशैंको उपलक्ष्यमा जारी भएको शुभकामना सन्देश :
प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरू,
हाम्रा घर आँगनमा हाम्रो सांस्कृतिक पर्व वडा दशैं आइपुगेको छ । उल्लास र उमङ्गको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेबसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।
नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरको परनिर्भरता र ऋणको भारले थिचिएको छ । हाम्रो गाउँबस्ती र सहरी क्षेत्र क्रमशः “ युवा शक्ति विहीन “ बन्दै गइरहेको छ । आज मुलुकमा युवा शक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन । युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ । रोजगारीको निमित्त बिदेसिनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेत वारी मात्र बाँझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौँ । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुट राख्ने हाम्रो चाहना हो । बाह्य शक्ति राष्ट्रहरूको दबाब र दुष्प्रभाव हामी कहाँ नबढोस्, यो देशमा अरूको खेल मैदान नबनोस्, हाम्रो भूमि कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यान दृष्टि थियो र सधैँ हुनु पर्दछ ।
एक्काइसौँ शताब्दीको पहिलो दशक देखि नै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय तनाव झन् गहिरो हुँदै गएको छ । यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन । राष्ट्र राष्ट्रहरूको बिचमा विश्वासको सङ्कट चुलिँदै गएको परिदृश्य प्रस्ट नै छ । भू–राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरू बिचको तनाव र स्वयं घोषित नवशक्तिहरूको अहमता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल “ शान्त राष्ट्र“ को रूपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ । यस दिशातर्फ हामी सबैको राष्ट्रिय सङ्कल्प हुनै पर्दछ । नेपालका बारेमा नेपालीहरू नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखा परेको अन्योल र अराजकताले झन् पुष्टि गरेको छ ।
श्री नवदुर्गा भवानीले हामी सबैलाई सत्कर्मका निम्ति प्रेरणा प्रदान गरुन् ।
जय नेपाल ।
४, देवराज घिमिरे, सभामुख
सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
यो भाषा पनि शुद्ध मानिन्छ ।
“दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ ।
दसैँको पूर्वसन्ध्यामा मनसुनी प्रभावका कारण देशभर बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाएको तथा ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था भएकोले सुरक्षित र सावधानीपूर्वक यात्रा गरी दसैँ मनाउन अनुरोध गर्दछु”, उनले सन्देशमा भनेका छन्।
‘असत्यमाथि सत्यको विजय’ दसैँको सबैभन्दा ठूलो सन्देश भएको बताउँदै उनले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन यसले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको सन्देशमा उल्लेख गरेका छन् ।
५, इन्दिरा रानामगर (उपसभामुख)
उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कायम राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।
यो सम्बोधन पनि सही मानिन्छ ।
बडादसैँ–२०८१ को अवसरमा शुभकामना आज शुभकामना सन्देश दिँदै उनले दसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने विश्वास व्यक्त गरिन् ।
उपसभामुख रानाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृक्तिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्न दसैँको विशेष महत्त्व रहेको बताएकी छन् ।
“दसैँ एकता र पुनर्मिलनको पनि चाड हो । मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा उल्लेख गरेको छ । जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अङ्गका रूपमा छन्”, शुभकामना सन्देशमा भनिएको छ ।
विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिको रूपमा रहनेछन् भन्दै उपसभामुख रानाले यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन् । मुलुकमा नागरिकको अवस्था अझै पनि बदलिन सकेको भन्दै उहाँले नागरिकका अपेक्षा पूरा गर्न अविचलित भएर लाग्नु अहिलेको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।
साथै उनले दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म दुर्गा भवानीको पूजा आराधना गरी दसौँ दिन टिका जमरा ग्रहण गरी पूर्णिमाका दिनसम्म मान्यजनहरूको हातबाट आशीर्वाद लिई मनाइने हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँलाई पारिवारिक जमघटको विशेष अवसरको रूपमा लिइने गरिन्छ ।
६, विद्यादेवी भण्डारी, (पुर्वराष्ट्रपति)
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बिचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् । उनको यो भाषा शुद्ध मानिन्छ ।
बडादसैँका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दसैँ अलि असहज भएको छ बताएकी छिन ।
“यो दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश,परिस्थिति र गच्छेअनुसार तडकभडकरहित,मितव्ययी,तर खुसियालीका साथ मनाउनु पर्दछ,” शुभकामना सन्देशमा उनले भनेकी छिन् ।
अब नेपाली मौलिक पर्व अनुसार, भाषा नमिलाई दशैँको शुभकामना कुन कुन व्यक्तिले दिए ? हेरौं ।
शुद्ध नेपाली मौलिकता शब्द प्रयोग नगर्नेहरु
१, रामचन्द्र पौडेल, (राष्ट्रपति)
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दशैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।
“विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु”, उनीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
२, पुष्पकमल दाहाल ‘प्रचण्ड’ (पुर्वप्रधानमन्त्री, पार्टी नेकपा माओवादी केन्द्र, अध्यक्ष)
नेपालीहरूको महान् पर्व विजयादशमीको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको काम गरेका छन्।
‘पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली छौँ। हामीले नेपाली विशिष्टता र मौलिकताको सम्वर्धन एवं विकास गरेर ज्ञानविज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ।
यस दृष्टिले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी छ,’ प्रचण्डले शुभकामना सन्देश जारी गर्दै भनेका छन्।
उनले राष्ट्र निर्माणको यही संकल्प बोक्दै राष्ट्रसामु विद्यमान चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्यको निर्माण गर्ने अठोटका साथ विजयादशमी मनाउन सबैलाई अनुरोध गरेका छन्।
उनले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै शुभकामना व्यक्त गरेका छन्।
अन्य नेताहरुको हालत पनि उस्तै अशुद्ध
त्यस्तै, अन्य नेताहरुले पनि शुद्ध सम्बोधन गर्न सकेका छैनन् । पुर्वप्रधानमन्त्री माधबकुमार नेपाल र झलनाथ खनालको भाषामा पनि त्यति शुद्धता भेटिंदैन । अर्को पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कतै शुद्ध कतै बेमेल भाषा प्रयोग गरेका छन् ।
त्यस्तै, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरुको सम्बोधनमा पनि नेपाली मौलिकता देखिंदैन ।
अन्य ससाना दलहरु र मधेशी पार्टीहरुले त झन इण्डियन संस्कृति झल्किने भाषा प्रयोग गरेका छन् । सानै दल भएपनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको शुभकामना भाषा निकै शुद्ध रहेको छ ।
के हो शुद्धता अनि के हो पराई भाषा ?
बडा दशैँ । यो नेपाली मात्रको चाड नभएर नेपाली शुद्ध भाषामा तयार भएको शब्द हो ।
प्राडा. जगमान गुरुङ केही वर्षदेखि लगातार भनिरहेका छन्,‘विजया दशमी नभनौं, बडा दशैंँ सम्बोधन गरौं ।’ डा. गुरुङ नेपाली सबै जाति र समुदायलाई एउटै मालाका फुलहरु भएको प्रमाणित आधारहरु प्रस्तुत गर्दै लामो समयदेखि नेपाली संस्कृतिको अध्ययन गरेका व्यक्ति हुन् । नेपाल ऋषिको सम्मान पाएका गुरुङले बडा दशैँ मात्र नेपालीहरुको मौलिक शब्द भएको बहस छेडिरहेका छन् ।
यसका केही कारण छन् । नेपाल र इण्डियाका कतिपय संस्कृति मिल्दाजुल्दा हुने भएकोले आदिमकालदेखि नेपाली पुर्खाले नेपालमा मनाइने चाडपर्व, संस्कृतिका नाम, मनाइने बिधि र यसको महिमाका बारेमा फरक तथ्यहरु सृजना गरेका थिए ।
हाम्रा तिनै पुर्खाहरुको कदर, सम्मान र श्रद्धाका लागि हामीले हाम्रो पहिचान भुल्न नहुने यसका अध्येताहरुको भनाइ छ ।
उदाहरणका लागि, आजै दशैँको टीका दिनमा इण्डियन राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीले विजया दशमी नामबाट सम्बोधन गरेका छन् । हेर्नुस, उनिहरुका सचिवालयका सन्देश र आधिकारिक सामाजिक संजाल) । यहाँ बुझ्नुपर्ने कुरा के छ भने इण्डियाले मनाउने विजया दशमी रामले रावणमाथी प्राप्त गरेको विजयीको उत्सव हो ।
तर, नेपालमा मनाइने, बडा दशैँको सन्दर्भ इण्डियासंग जोडिंदैन । किनकी, श्रीलंकामा रावणलाई पुजिन्छ । तर, हिन्दु इण्डियनहरु रावणलाई घृणा गर्छन् । नेपाली सनातन धर्मले भने कसैलाई घृणा नगर्ने हाम्रा मौलिकताको विशेषता रहेको छ ।
संस्कृति अध्येता घनश्याम कोइरालाले आफ्ना लेख र सम्बोधन मार्फत भन्दै आएका छन्,‘‘विजया दशमी’ फरक हो । इण्डियामा विजया दशमी मनाउने प्रचलन छ, तर मनाउने तरिका र अन्तरवस्तुमा नै भिन्नता देखिन्छ ।’
कोइरालाले विजया दशमीलाई अयोध्याका राजकुमारले लङ्काका राजा रावणलाई वध गरेको खुसीमा विजयोत्सवका रूपमा मनाइने बताउँदै राम–रावणको युद्ध र त्यसमा भएको जय–पराजयको कथाबारे अन्यत्र चर्चा गर्न सकिने उल्लेख गरेका छन् ।
त्यो राम र रावणको कथा रामायण हो । नवरात्रि र दशैँ पर्व देवी भागवतको कथासँग सम्बन्धित हो । यसमा रामायण पाठपारायण गरिँदैन, दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । विजया दशमीको प्रसङ्ग त्रेता युगको हो ।
जबकि नवदुर्गाको प्रसङ्ग सत्य युगको हो । रामलाई मान्नु, रामको विजयमा खुसी हुनु आफ्नो ठाउँमा होला, मातृशक्तिको महानतालाई कमजोर पार्ने गरी पर्व मनाउनु न्यायपूर्ण हुँदैन । देवीका कथा सुन्ने, देवीको पूजा–आराधना गर्ने, रामको विजयको उत्सव मनाउने कुरा मिल्ने कुरा हो र ?
अन्धविश्वासले संस्कृति धमिलिन्छ । यथार्थ र सत्यबोधले संस्कृति समुन्नत हुँदै जान्छ । यो क्रम चलिरहेको छ, चलिरहन्छ । विशेषतः यो क्रम चाडपर्वमा बढी मुखरित हुन्छ ।
सबैभन्दा बढी अन्धविश्वास चाडपर्वमा देखिन्छ र सबैभन्दा सत्यबोधको अवसर पनि चाडपर्व नै हो ।’ कोइरालाले आफ्नो अध्ययनमा भन्दै आएका छन् ।
त्यसैले यो पर्वलाई ‘विजया दशमी’ भनेर एक दिनलाई मात्र सम्बोधन गरेर हुँदैन, यसलाई ‘बडादशैँ’ भनेर सम्बोधन गर्नु सही हुन्छ । यसै पनि यतिबेलाका तिथिहरूलाई महासप्तमी, महाअष्टमी, महानवमी भनिएको हुन्छ र ‘महा’ भनेको ठूलो हो । ठूलालाई ‘बडा’ भनिन्छ ।
दस दिन, अझ कहीँ कहीँ त असोज शुक्ल पूर्णिमासम्म पनि टीका–जमरा थापी आशीर्वाद लिने प्रचलन छ । पन्ध्र दिनसम्म मनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण पर्वलाई एक दिनको जस्तो गरी ‘विजया दशमी’ मात्र भनेर पुग्दैन, बडादशैँ भन्नुपर्छ, कोइरालाले भनेका छन् ।
अतः हाम्रा पुर्खाले सृजना गरेका शब्द, संस्कृति र मौलिकतालाई हामीले पछ्याउन सकौं । व्याकरण तलमाथी हुन सक्छ । सबै व्यक्तिलाई सबै व्याकरणको जानकारी हुँदैन । तर, मुल मर्म मेटिनेगरि नेपाली मौलिक शब्दमा भने हामीले ख्याल गर्नैपर्छ ।
नेपाली नेताहरु मध्ये केपी ओलीको सम्बोधन किन शुद्ध भनिएको हो भने अन्य विशेष अवस्थामा नि ओलीले नेपाली पहिचान, नेपाली शब्द र नेपाली संस्कृतिका शब्दहरु ख्याल गरेर बोलेका हुन्छन् । यही दशैँका सन्दर्भमा पनि उनले अन्य नेताको तुलनामा शुद्ध नेपाली मौलिकता भित्र रहेर सम्बोधन गरेका छन् ।
हाम्रा मोइबालमा जारी हुने विभिन्न डिजिटल पात्रोहरु अशुद्ध शब्दहरु व्यापक प्रयोग भएको छ । यसको मुल कारण इण्डियाका विभिन्न स्रोतबाट साभार गरेको देखिन्छ । सरकारले नेपाल पञ्चांग लगायत पात्रो, क्यालेण्डर सार्वजनिक गर्ने कागजी र डिजिटल निकायलाई सचेत गराउनुपर्ने देखिएको छ ।
दशैँ शब्दमा दशैँ र दसैँ श र स आदिका विषयमा पनि मतभिन्नता देखिंदै आएको छ । तर, मुर्धन्य संस्कृतिविद्का अनुसार बडा दशैँ नै शुद्ध मानिन्छ । आजदेखि सबै नेपालीले यति मात्र भनौं, बडा दशैँको शुभकामना ।
(जानकारीः राष्ट्रिय समाचार डटकमले इण्डियालाई ‘इण्डिया’ शब्द मात्र भन्ने नीति लिएको छ । यदि कुनै समाचार एजेन्सीको समाचार हामीले साभार गरेमा त्यो भाषा, सम्बोधन र प्रस्तृतिमा हाम्रो कुनै संलग्नता नहुने जानकारी गराउँछौं । सं )