
काठमाडौँ, २७ चैत, प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३४औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नयाँ वार्ड भवन, क्लिनिकल प्याथोलोजी, माइक्रोबायोलोजी एकाई एवं व्लडबैंक तथा पुस्ताकालयको उद्घाटन गर्नुभयो । उहाँले बार्षिक स्मारिका “अस्पताल दपर्ण २०७४” को लोकापर्ण समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले अस्पतालको न्यूरो सर्जरी र नेफ्रोलोजी बिषयका भिजिटिङ्ग कन्सल्टेन्टको रुपमा सेवा प्रदान गर्नुहुने वरिष्ट न्यूरो सर्जन डा. पवन कुमार सुल्तानिया, नेपाल मेडिकल कलेजका प्रा.डा प्रमोद क्षेत्री, अस्पताललाई महत्वपूर्ण योगदान पु–याउनुहुने पुर्व प्रहरी नायव महानिरीक्षक डा. सुरेन्द्र कुमार श्रेष्ठ र पुर्व प्रहरी वरिष्ठ उपरीक्षक डा. सरोज श्रेष्ठलाईलाई प्रशंसापत्र तथा सशस्त्र प्रहरी गण नं. १ नक्साल र महानगरीय प्रहरी गण महाराजगंजलाई कदरपत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा उहाँले अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने बताउदै स्वास्थ्य सेवा मानवीय सेवा भएकोले यसको महत्व र गरिमालाई बुझी सेवा प्रदान गर्न अस्पतालमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले शारीरिक एवं मानसिक रुपमा सक्रिय प्रहरी कर्मचारीहरु स्वस्थ रहनु आवश्यक रहेकोले अस्पतालको आधुनिकीकरणलाई संगठनले उच्च प्राथमिकतामा राखेको बताउदै नागरिक सेवामा अहोरात्र खटिने प्रहरी कर्मचारीको लागि कल्याणकारी सेवा महत्वपूर्ण हुनाले अस्पतालको विकास र बिस्तारका लागि प्रहरी कल्याणकोषबाट बार्षिक रुपमा नियमित अनुदान प्रदान गरिदै आएको समेत बताउनुभयो ।

उहाँले अस्पतालको सेवालाई बिस्तार गर्ने क्रममा यसैबर्षबाट सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा प्रदान गरिएको चर्चा गर्दै नेपाल प्रहरी अस्पताललाई नागरिकको रोजाईको अस्पताल बनाउने ध्येयका साथ सेवा प्रदान गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पुर्व प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, अच्युत कृष्ण खरेल, धु्रव बहादुर प्रधान, प्रदिप शम्सेर जवरा, हेमबहादुर गुरुङ, कुबेर सिंह राना र उपेन्द्र कान्त अर्यालले नेपाल प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई संयुक्त रुपमा नगद पुरस्कार सहित कदरपत्र प्रदान गर्नुभएको थियो ।
नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेश चन्द्र पोखरेलले धन्यबाद ज्ञापन गर्नुहुदै अस्पतालको विकासका लागि मास्टर प्लान तयार गरिएको बताउदै अस्पतालको सेवालाई समय सापेक्ष थप गुणस्तरीय बनाउदै लगिने बताउनुभयो ।

प्रहरी नायव महानिरीक्षक डा. दुर्गा थापा पुनले स्वागत मन्तव्य सहित अस्पतालको ३४ औं बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुले अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गर्नुका साथै अस्पताललाई सहयोग स्वरुप ५० थान कम्बल उपलव्ध गराउनु भएको थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक एवं प्रहरी वरिष्ठ अधिकृत एवं पुर्व प्रहरी कर्मचारी, स्वास्थ्यकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।