काठमाडौं : सरकारले पानीजहाज कार्यालय स्थापना गरेको छ । बिहीबार बिहान आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकान्तकुनमा रहेको नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालय मातहत रहनेगरी कार्यालय उद्घाटन भएको हो । यसअघि २०२७ सालमा पानी जहाज दर्ता ऐन प्रचलनमा आए पनि कार्यालय भने स्थापना भएको थिएन ।
कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।
सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताए । महासेठले भने, प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाईयो । जसले हामीलाई अझ काम गर्ने जोश आयो ।’
प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।
महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।
सरकारले नेपाल पानीजहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरिसकेको छ ।
मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहनेछ ।